काठमाडौँ । महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले मधेश, कर्णाली र सुदूरपश्चिमका ३९ पालिकामा महिला जनप्रतिनिधिको क्षमता विकासका लागि लैंगिक उत्तरदायी तथा समावेशी शासन प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेको छ । सन् २०२४ अक्टोबरदेखि सञ्चालित परियोजना आइतबार एक कार्यक्रमबीच समापन गरिएको हो । परियोजनाबाट स्थानीय तहका महिला जनप्रतिनिधिको नेतृत्व विकास, नीतिगत सुधार, संस्थागत क्षमता अभिवृद्धि तथा महिला अधिकारको सुनिश्चितताका क्षेत्रमा उल्लेखनीय प्रगति भएको जनाइएको छ । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष सविता पोखरेलले कार्यक्रम सञ्चालन भएका स्थानीय तहमा महिलाको सशक्तीकरणका लागि नीतिहरू बने पनि त्यसको कार्यान्वयनको सुनिश्चितता भने अझै नरहेको बताइन् । दुई वर्षको अनुभव र उपलब्धिलाई निरन्तरता दिन स्थानीय तहमा लैंगिक उत्तरदायी नीति, कार्यक्रम र बजेटलाई संस्थागत गर्नुपर्नेमा उनको जोड थियो । ‘परियोजना सकिए पनि संस्थाको रूपान्तरणको अभियान जारी छ । अब हामी ती नीतिहरूको प्रभावकारी कार्यान्वयनमा फोकस गर्छौं,’ उनले भनिन् । कालिकोटको शुभकालिका गाउँपालिकाकी उपाध्यक्ष धर्मकला शाहीले ग्रामीण भेगका महिलाको अवस्था अझै पनि दयनीय रहेको बताइन् । आफू पालिकाको उपाध्यक्षमा निर्वाचित भए पनि अध्यक्षले गरेको काममा ताली बजाउन बाध्य रहेको बताइन् । 'धेरै संघर्ष गरेर यो पदमा पुगेँ, तर महिलाको कुरा नपत्याउँदा रहेछन्, पालिकामा सानो कुरा पास गर्न पनि धेरै गाह्रो छ,’ उनले भनिन्, ‘यस्ता परियोजनाले पनि अघि बढ्न धेरै सहयोग पुर्याएका छन् ।’ परियोजनामार्फत १३ वटा लैंगिक उत्तरदायी नीति, रणनीति तथा योजना निर्माण वा स्वीकृत भएका छन् । आठ स्थानीय तहमा लैंगिक हिंसा न्यूनीकरण कोषसम्बन्धी निर्देशिका स्वीकृत भएको छ । यस्तै, लैंगिक समानता तथा सामाजिक समावेशीकरण (जेसी) समिति ३९ वटै स्थानीय तहमा सञ्चालनमा आएको जनाइएको छ । यस अवधीमा २९७ महिला जनप्रतिनिधिको नेतृत्व विकासका लागि तालिम तथा ३०५ जनप्रतिनिधि तथा कर्मचारीलाई लैंगिक समानता, लैंगिक उत्तरदायी बजेट र सामाजिक जवाफदेहिताबारे अभिमुखीकरण प्रदान गरिएको थियो । महिला अधिकार तथा सामाजिक जबाफदेहीताका लागि महिला समूहसमेत गठन गरिएको छ । महिला जनप्रतिनिधिको लैंगिक शासनसम्बन्धी औसत ज्ञानको स्तर परियोजनाको सुरुवातमा ३७