मैदानको आलोचनादेखि च्याम्पियनको खुसीसम्म, क्रिकेटर विनोद भण्डारीको श्रीमतीको भावुक सन्देश

  • आइबार​ ७ मंिर २०८३ ०८:५५ PM
काठमाडौँ । एनपीएल सिजन थ्रीको उपाधि जितेपछि सुदूरपश्चिम रोयल्सका खेलाडी विनोद भण्डारीकी श्रीमती सोनीका अर्यालले श्रीमानको झन्डै दुई दशक लामो क्रिकेट यात्रा, सङ्घर्ष र सफलतालाई स्मरण गर्दै भावुक सन्देश सार्वजनिक गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा अग्रेजीमा लेखेको सन्देशमा विनोदले क्रिकेटका लागि आफ्नो जीवनका झन्डै दुई दशक समर्पण गरेको उल्लेख गर्दै त्यस क्रममा भोगेका त्याग, निराशा, पुनरागमन, आलोचना र अपेक्षालाई नजिकबाट देखेको बताएकी छन् । ‘मैले तिमीलाई यो खेलका लागि आफ्नो जीवनका झन्डै दुई दशक दिएको देखेकी छु । तिम्रा त्याग, निराशा, पुनरागमन, आलोचना र अपेक्षा देखेकी छु । आफूलाई पटक पटक प्रमाणित गर्नुपरेको क्षण पनि देखेकी छु,’ उनले लेखेकी छन् । क्रिकेटले विनोदलाई शारीरिक र भावनात्मक रूपमा थकाएको भए पनि उनले निरन्तर मैदानमा उत्रिने, मेहनत गर्ने र आफूमा विश्वास राख्ने काम नछाडेको सोनीकाको भनाइ छ । उनले विनोदले अनावश्यक आलोचना र अपमानसमेत सहनुपरेको स्मरण गरेकी छन् । अपरिचित व्यक्तिले वर्षौँको मेहनतलाई केही टिप्पणीका आधारमा मूल्याङ्कन गर्ने, उनको क्षमतामाथि प्रश्न उठाउने र व्यक्तिगत रूपमा अपमान गर्ने गरेको आफूले देखेको उनले उल्लेख गरेकी छन् । ‘हरेक खेलाडीको मैदानबाहिर पनि मन, परिवार र आफ्नै जीवन हुन्छ भन्ने कुरा मानिसले कहिलेकाहीँ बिर्सन्छन् । यति धेरै कुरा सहेर पनि तिमी मैदानमा उत्रिएको मैले देखेकी छु,’ उनले लेखेकी छन् । त्यसैले विनोदले उपाधि उचालेको क्षण आफ्नो लागि विशेष र व्यक्तिगत खुसीको विषय बनेको सोनीकाले बताएकी छन् । सिजनको अन्तिम खेलमा विनोदले देखाएको प्रदर्शनको प्रशंसा गर्दै उनले लक्ष्य पछ्याउने क्रममा संयमित ब्याटिङ गरेको, अविजित रहेको र १० विकेटको शानदार जितसहित टोलीलाई च्याम्पियन बनाउन भूमिका निर्वाह गरेकोमा खुसी व्यक्त गरेकी छन् । ‘तिमीले आफ्नो भूमिका सुन्दर ढङ्गले निर्वाह गर्‍यौ । तिमीप्रति म गर्व गर्न सक्दिनँ भन्नै सक्दिनँ । यो नै टोली भावना, अनुभव र आत्मविश्वासको उदाहरण हो,’ उनले लेखेकी छन् । उनले आफूलाई विनोदको टोलीले उपाधि जितेको वा उनले ट्रफी उचालेको कारणले मात्र गर्व नभएको स्पष्ट पारेकी छन् । बरु मैदानमा देखिने खेलाडीको जर्सीभित्रको मानिसलाई आफूले चिनेको र क्रिकेटका लागि उनले गरेको समर्पण तथा पटक पटक नयाँ सुरुवात गर्न जुटाएको साहस थाहा भएकाले गर्व लागेको उनको भनाइ छ । विनोदले क्रिकेटप्रतिको आफ्नो लगाव र उत्साह कहिल्यै नगुमाउन् भन्दै उनले जीवन जहाँ पुगे पनि आफू सधैँ उनको साथमा रहेको र उनको क्षमतामाथि विश्वास गर्ने बताएकी छन् । ‘तिमीमाथि विश्वास गर्ने, तिम्रो मूल्य बुझ्ने र तिमीप्रति सधैँ गर्व गर्ने कोही छ भन्ने कुरा सधैँ सम्झिरहनू । यो सफलता खुसीसाथ मनाऊ, तिमीले यसको हरेक खुसी र सम्मान कमाएका छौ,’ उनले लेखेकी छन् । सोनीकाको यो सन्देशले क्रिकेट मैदानमा खेलाडीले देखाउने प्रदर्शनसँगै त्यस पछाडिको लामो सङ्घर्ष, पारिवारिक साथ र मानसिक उतारचढावलाई समेत स्मरण गराएको छ ।