इन्स्पेक्टर तोलाङ्गे घोषित भए कात्तिकको सर्वोत्कृष्ट प्रहरी

  • शनिबार ६ मंिर २०८३ ०८:१३ AM
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा कार्यरत प्रहरी निरीक्षक अस्वीन तोलाङ्गेलाई २०८३ साल कात्तिक महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरेको छ । तोलाङ्गेले अपराध अनुसन्धान, फरार अभियुक्त पक्राउ तथा लागूऔषध नियन्त्रणमा उल्लेखनीय कार्यसम्पादन गरेको भन्दै कोशी प्रदेश प्रहरी कार्यालयले उनलाई ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित गरेको हो । तोलाङ्गेको नेतृत्व तथा सक्रियतामा उदयपुरको बेलका नगरपालिका–३ जगनास्थित गिदेरी खोलाको कासघारीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी गर्भवती बनाएको आरोपमा फरार रहेका समीर परियारलाई पक्राउ गरी अनुसन्धान गरिएको थियो । त्यस्तै, बेलका नगरपालिका–९ रामपुर बजारमा पैदलयात्री ५६ वर्षीया लक्ष्मिमाया राईलाई ठक्कर दिई मृत्यु भएको घटनामा फरार बोलेरो गाडी र चालक प्रेमबहादुर विकलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको प्रहरीले जनाएको छ । यसैगरी, बेलका नगरपालिका–७ स्थित पित्लाङ जंगलमा बेवारिसे अवस्थामा लुकाइराखिएको दुई हजार ८२० किलो ५० ग्राम गाँजा बरामद गर्नुका साथै करिब ६ रोपनी क्षेत्रफलमा लगाइएको दुई हजार २०० गाँजाका बोट फडानी गरी नष्ट गरिएको थियो । विभागीय मूल्य, मान्यता र आदेश निर्देशनको पालना गर्दै उच्च मनोबल, व्यावसायिकता, अनुशासन तथा कर्तव्यनिष्ठाका साथ जिम्मेवारी निर्वाह गरेको र अपराध अनुसन्धान तथा लागूऔषध नियन्त्रणमा अनुकरणीय योगदान पुर्‍याएको भन्दै तोलाङ्गेलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।