मिडियामा अपाङ्गतामैत्री सम्पादकीय नीति तर्जुमा गर्न सुझाव

  • शुक्रबार​ ५ मंिर २०८३ ०६:०७ PM
काठमाडौं। आमसञ्चार माध्यमले अपाङ्गताका सवाललाई सम्बोधन गर्ने गरी अपाङ्गतामैत्री सम्पादकीय नीति तर्जुमा गरी लागू गर्न सरोकारवालाले सुझाव दिएका छन् ।  सञ्चारमाध्यमले अपाङ्गता भएका व्यक्तिलाई अझैपनि सहानुभूति र दयाको पात्रकारुपमा मात्रै प्रस्तुत गरिरहेको उनीहरूको गुनासो छ। अपाङ्गता समावेशी विकास विज्ञ कृष्ण गहतराजले मिडियामा अपाङ्गताका सवालबारे सञ्चार निर्देशिका २०७३ मै जारी भएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए ।  'अपाङ्गतासम्बन्धी सञ्चार निर्देशिकाबमोजिम मिडियामा शब्दहरूको प्रयोग बदलियो, तर त्यसको भावार्थ र सन्दर्भबारे व्यवहारिक परिवर्तन हुन सकेको छैन,' उनले भने । नेपाल पत्रकार महासंघको केन्द्रीय समावेशी विभाग र राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघको समन्वयमा शुक्रबार काठमाडौँमा भएको आमसञ्चार माध्यममा अपाङ्गताका सवालबारेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मिडियाले अब अपाङ्गता भएका व्यक्तिका सवाललाई घटनाप्रधान समाचार मात्र सीमित नगरी सम्पादकीय नीतिमै सुधार ल्याएर व्यवहारिक परिवर्तन ल्याउनु आवश्यक भएको बताए ।  उनले अपाङ्गता भएका व्यक्तिलाई दया र समानुभूतिका पात्रकारुपमा नभई उनीहरू पनि यो राज्यका नागरिक भएकाले त्यहीअनुसारको व्यवहार गर्न आग्रह गरे । 'अपाङ्गता भएका व्यक्ति पनि नागरिक हुन्। उनीहरूको हक छ । राज्यले उनीहरूलाई संविधानले दिएको अधिकार सुनिश्ति गरिदिनुपर्छ,' उनले भने, 'अपाङ्गता भएका व्यक्तिको अधिकारका लागि राज्य जवाफदेही हुनुपर्छ। त्यसकालागि मिडियाले गर्ने एड्भोकेसी अझै बलियो हुनुपर्दछ ।' उनले अपाङ्गता भएका व्यक्तिभित्रको विविधता र उनीहरूका अलग अलग संघर्षलाई समेत समेट्नुपर्ने बताए ।  कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघकी अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालयकी उपप्राध्यापक प्रतिमा गुरुङले सञ्चारमाध्यमले अपाङ्गता भएका महिलाका सवाललाई विशेष प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको बताइन् ।  उनले अपाङ्गता भएका व्यक्तिहरूको सही तथ्याङ्क राज्यसँग नरहेको र उनीहरूलाई सम्बोधन गर्न प्रयोग गरिने भाषासमेत कतिपय अवस्थामा अपमानजनक हुने गरेको बताइन् ।  कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष उमिद वागचन्दले अपाङ्गता भएका व्यक्तिलाई सम्बोधन गर्न आम रूपमा प्रयोग गरिने शब्दावलीमै समस्या रहेको बताए । त्यस्ता गलत र अपमानजनक शब्द प्रयोगलाई सञ्चारमाध्यमले सच्याउनुपर्ने उनको भनाइ थियो । अपाङ्गता भएका व्यक्तिलाई दयाको पात्र वा बिचराका रूपमा नभई क्षमता र योग्यताका आधारमा अवसर प्रदान गर्नुपर्नेमा जोड दिँदै वागचन्दले उनीहरूको क्षमता, सम्भावना र योगदानलाई सञ्चारमाध्यमले उजागर गर्नुपर्ने बताए । कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले अपाङ्गता भएका व्यक्तिहरूको अर्थपूर्ण सहभागिता, प्रतिनिधित्व र नेतृत्व सुनिश्चित गर्न राज्य तथा सञ्चारमाध्यम दुवैले नीतिगत र व्यवहारिक सुधार गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।