कमेडी च्याम्पियन विजेता भरतमणि अब गौतम होलिडेजको ब्रान्ड एम्बेसडर

  • बिहीबार ४ मंिर २०८३ १०:४३ PM
काठमाडौँ । चर्चित हास्य कलाकार भरतमणि पौडेल नेपालको प्रतिष्ठित पर्यटन तथा ट्राभल व्यवस्थापन कम्पनी गौतम होलिडेजको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ कम्पनीले पौडेलसँग यो व्यावसायिक सहकार्य गरेको हो । कम्पनीले मङ्सिर २ गतेदेखि लागू हुने गरी पौडेललाई एक वर्षका लागि ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो । कम्पनीका निर्देशक उत्तम गौतमले सेवा विस्तार र प्रवर्द्धनलाई थप बृहत् बनाउने योजनाअनुसार पौडेललाई ब्रान्ड एम्बेस्डर नियुक्त गरिएको जानकारी दिए । उनका अनुसार भरतमणि पौडेलसँगको सहकार्यले संस्थाको ब्रान्ड पहिचान स्थापित गर्न, बजार विस्तार गर्न तथा व्यावसायिक प्रवर्द्धनमा थप योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । कम्पनीको प्रचारप्रसार, ब्रान्ड पहिचान तथा व्यावसायिक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यले पौडेललाई ब्रान्ड एम्बेसडरको जिम्मेवारी दिइएको गौतम होलिडेजले जनाएको छ । नियुक्तिसँगै पौडेल आगामी एक वर्षसम्म कम्पनीका विभिन्न प्रचारात्मक तथा प्रवर्द्धनात्मक गतिविधिमा सहभागी हुनेछन् । पर्यटन, यात्रा तथा स्वदेश तथा विदेश भ्रमणसम्बन्धी सेवा प्रदान गर्दै आएको गौतम होलिडेज विगत १५ वर्षदेखि यस क्षेत्रमा सक्रिय रहँदै आएको छ । गौतम होलिडेजले आफ्नो फेसबुक पेजमार्फत पौडेललाई ब्रान्ड एम्बेसडरका रूपमा स्वागत गरेको जानकारी दिएको हो । कम्पनीले उनीसँगको सहकार्यलाई नयाँ अवसर, अनुभव र यात्राको सुरुवातका रूपमा प्रस्तुत गरेको छ । ब्रान्ड एम्बेसडर नियुक्त भएपछि पौडेलले पनि सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका छन् । उनले आफ्ना दर्शकको माया नै आफ्नो सबैभन्दा ठुलो शक्ति र प्रेरणा भएको उल्लेख गर्दै गौतम होलिडेजको ब्रान्ड एम्बेसडर बन्न पाउँदा हृदयदेखि नै खुसी र गौरवान्वित भएको बताएका छन् । उनले विश्वास, माया र सम्मानका लागि गौतम होलिडेजको संस्थापक टोलीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि दर्शकको माया र कम्पनीको साथलाई आत्मसात् गरेर नयाँ काम गर्ने प्रयास जारी राख्ने बताएका छन् । पौडेल चर्चित नेपाली स्ट्यान्ड अप कमेडियन तथा कलाकार हुन् । उनी कमेडी च्याम्पियन सिजन–२ का विजेतासमेत हुन् । उनले लोकप्रिय नेपाली टेलिशृङ्खला ‘भद्रगोल’मा समेत अभिनय गरेका छन् ।