दल त्याग गरेको भन्दै जसपा नेपालबाट निर्वाचित उपमेयरसहित १८ जनप्रतिनिधिको पद गुम्यो

  • बिहीबार ४ मंिर २०८३ १०:२४ AM
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालबाट निर्वाचित १८ जना स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगले दल त्याग गरेको भन्दै उनीहरूको पद रिक्त भएको सूचना प्रकाशित गरेको हो । आयोगले बिहीबार प्रकाशित गरेको सूचनाअनुसार स्थानीय तह निर्वाचन २०७९ मा जनता समाजवादी पार्टी, नेपालबाट निर्वाचित जनप्रतिनिधिले पार्टीको नीति, सिद्धान्त तथा निर्णय विपरीत कार्य गरी दल त्याग गरेको भन्दै पार्टीको केन्द्रीय समन्वय समितिको निर्णयसहित आयोगमा जानकारी प्राप्त भएको थियो । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा १ र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको ब्यहोरा पार्टीको केन्द्रीय समितिले निर्णय गरी आयोगलाई जानकारी गराउनुपर्ने कानुनी व्यवस्था छ । सोही व्यवस्थाअनुसार आयोगले बुधवारदेखि सम्बन्धित जनप्रतिनिधि निर्वाचित भएका पद स्वतः रिक्त भएको निर्णय गरेको सूचनामा उल्लेख छ । पद रिक्त हुनेमा सिराहाका तीन जना, पर्साका दुई जना, खोटाङका आठ जना, भोजपुरका एक जना, उदयपुरका एक जना, इलामका दुई जना र सुनसरीका एक जना रहेका छन् । सिराहाको लहान नगरपालिकाका उपप्रमुख राम चरित्र महतो, सखुवानान्कारकट्टी गाउँपालिका–४ का वडाध्यक्ष रमेशकुमार यादव र धनगढीमाई नगरपालिका-७ का वडाध्यक्ष विजयकुमार महतोको पद रिक्त भएको छ । त्यस्तै, पर्साको कालिकामाई गाउँपालिका-१ का वडाध्यक्ष लालबाबु राउत बरै र वडा नम्बर ३ का वडाध्यक्ष सञ्जयकुमार पटेलको पद रिक्त भएको छ । खोटाङमा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न पदमा निर्वाचित छ जना जनप्रतिनिधिको पद रिक्त भएको छ । उनीहरूमा वडा नम्बर-१० का वडाध्यक्ष मुगा धन राई, महिला सदस्य कल्पना राई, दलित महिला सदस्य गीता विक, वडा सदस्य रामधन राई र सहरमनि राई तथा नगर कार्यपालिका सदस्य वीरेन्द्रकुमार दर्नाल रहेका छन् । यसै गरी, भोजपुरको टेम्केमैयुङ गाउँपालिका-३ का वडाध्यक्ष बालचन्द्र राई, उदयपुरको लिम्चुङबुङ गाउँपालिका-४ का वडाध्यक्ष छत्रबहादुर राई, इलामको माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोदकुमार मेन्वाङ्बा र सन्दकपुर गाउँपालिका-४ का वडाध्यक्ष डालबहादुर गुरुङको पद पनि रिक्त भएको छ । सुनसरीको कोसी गाउँपालिका-६ का वडाध्यक्ष जुडीलाल कोड्गियाको पदसमेत रिक्त भएको निर्वाचन आयोगले जनाएको छ ।