काठमाडौँ। मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकसँग ठगी गरी संकलन गरिएको रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णयमा संलग्न भएको आरोपमा दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ परेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारको पत्र तथा विकास रानाभाटसमेतको जाहेरीका आधारमा प्रहरीले तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवलाई पक्राउ गरेको हो। त्यस्तै, श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानून अधिकृत निर्मला गुरुङ पनि पक्राउ परेका छन् । पक्राउ परेका सातैजना विरुद्ध ठगीसम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान अघि बढाएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । मलेसिया सरकार र नेपाल सरकारबीच भएको समझदारीपत्र (एमओयू) विपरीत गैरकानुनी रूपमा ठगी गरी संकलन गरिएको रकम मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। उनीहरूमाथि कुल एक अर्ब ६९ करोड दुई लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा ठगीको आरोप छ। सम्झौताको दायरा र कानुनी प्रक्रिया विपरीत अधिकार क्षेत्र नाघेर विदेशी मुद्रा अपचलन गराउने निर्णय गरिएको, यसबाट देशको अर्थतन्त्र र विदेशी मुद्रा सञ्चितिमा नोक्सानी पुगेको तथा संगठित समूहलाई लाभ पुर्याउने उद्देश्यले श्रमिकमाथि भएको ठगीमा मौन बसेर कानुनी उपचार नगरेको आरोप पक्राउ परेकाहरूमाथि लगाइएको छ।