त्रिभुवन विमानस्थलबाट एक किलो ८०३ ग्राम सुन बरामद

  • बुधबार ३ मंिर २०८३ ०३:४१ PM
 काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ८०३ ग्राम ७७० मिलिग्राम सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार पक्राउ पर्नेमा चीनको जिलिन स्थायी ठेगाना भएका ५८ वर्षीय जियानहुवा वाङ रहेका छन् । प्रहरीका अनुसार उनी बुधबार बिहान १ बजेर २५ मिनेटमा नेपाल वायुसेवा निगमको उडान नम्बर RA410 मार्फत हङकङबाट काठमाडौं आएका थिए । शङ्कास्पद गतिविधि देखिएपछि चेकजाँच गर्ने क्रममा उनले मलद्वारभित्र प्लास्टिकले बेरेर लुकाएको अवस्थामा सुन (चार थान पहेँलो गोलाकार अर्धठोस पदार्थ) फेला परेको प्रहरीले जनाएको छ । भन्सार क्षेत्र पार गरी बाहिर निस्कने क्रममा उक्त पदार्थ बरामद गरिएको हो । बरामद पदार्थको कुल तौल प्लास्टिकको र्‍यापसहित १ किलो ८०३ ग्राम ७७० मिलिग्राम रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका वाङलाई आवश्यक अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।