ठमेल र दरबारमार्ग पछि काठमाडौँका सबै क्षेत्र चौबिसै घण्टा खुला गर्ने तयारी

  • मङगलबार २ मंिर २०८३ ०८:०० PM
काठमाडौँ । काठमाडौँ जिल्लाका सबै क्षेत्रलाई चौबिसै घण्टा खुला गर्ने तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सुरक्षा, यातायात, स्वास्थ्य, विद्युत्, इन्टरनेटलगायत आवश्यक पूर्वाधारको भरपर्दो व्यवस्था गरेर जिल्लाभरका व्यापार, व्यवसाय र बजार क्षेत्र चौबिसै घण्टा सञ्चालन गर्ने रणनीतिक तयारी थालेको हो । जिल्ला प्रशासन कार्यालयले मङ्गलवार सूचना जारी गर्दै यसअघि निर्णय भई चौबिसै घण्टा खुला रहेका दरबारमार्ग र ठमेलबाहेक काठमाडौँका अन्य क्षेत्रलाई पनि चौबिसै घण्टा खुला गर्ने विषयमा तयारी भइरहेको जनाएको हो । प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलका अनुसार काठमाडौँ सङ्घीय राजधानीसमेत भएकाले समग्र जिल्लालाई चौबिसै घण्टा खुला राख्न आवश्यक सुरक्षा प्रबन्धसँगै सडक यातायात, स्वास्थ्य सेवा, विद्युत्, इन्टरनेट, सिसिटिभी र सडक बत्तीको पर्याप्त व्यवस्था गर्नुपर्नेछ । यसका लागि स्थानीय तह, विभिन्न विभाग तथा कार्यालय, यातायात व्यवसायी र निजी क्षेत्रसँग समन्वय गरेर छिट्टै बैठक आयोजना गर्ने तयारी गरिएको सूचनामा उल्लेख छ । सम्बन्धित सबै पक्षसँग छलफल तथा वृहत् तयारी पूरा भएपछि मात्रै काठमाडौँका समग्र क्षेत्र चौबिसै घण्टा खुला गर्ने निर्णय गरिने प्रशासनले जनाएको छ । हाललाई भने दरबारमार्ग र ठमेलबाहेक अन्य क्षेत्रका व्यवसायीले अर्को सूचना जारी नभएसम्म साबिकमा तोकिएको समयभित्र मात्रै व्यापार तथा व्यवसाय सञ्चालन गर्नुपर्नेछ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जारी गरेको सूचनामा चौबिसै घण्टा सञ्चालनका लागि आवश्यक तयारी र समन्वयपछि मात्रै निर्णय गरिने स्पष्ट पारिएको छ ।