‘हिमाल कसरी अपवित्र भयो ?’ जातीय टिप्पणी गर्ने व्यक्तिलाई चर्चित कलाकार कविता नेपालीको प्रश्न

  • मङगलबार २ मंिर २०८३ ०४:०१ PM
काठमाडौँ । चर्चित नेपाली नृत्याङ्गना, मोडल र अभिनेत्री कविता नेपालीले आफ्नो जातीय पहिचानलाई लिएर सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी गर्ने व्यक्तिप्रति आपत्ति जनाएकी छन्। आफ्नो फेसबुक पोस्ट तथा रिल्समा लाक्पा शेर्पा नामको व्यक्तिले ‘यो कमिनीलाई किन टुप्पोमा हग्छ, पुरै अपवित्र भो’ भन्ने टिप्पणी गरेपछि उनले भिडियो सन्देशमार्फत त्यसको जवाफ दिएकी हुन्। आफूलाई जातीय पहिचानका आधारमा पटक पटक यस्ता टिप्पणी आउने गरेको बताउँदै उनले सुरुमा नकारात्मक टिप्पणीलाई बेवास्ता गर्ने गरे पनि यस पटकको टिप्पणीले चित्त दुखाएको बताएकी छन्। ‘जातलाई लिएर यस्तो कमेन्ट आइरहन्छ। सुरुमा छोडिदिऊँ, नकारात्मक कुरामा किन ध्यान दिने, म आफ्नो काम गर्छु भनेर बसेँ। तर हुँदैन रहेछ क्या, यो त अति भयो,’ उनले भिडियोमा भनेकी छन्। धर्म, जात र वर्गका विषयमा आफूलाई बोलिरहन मन नलाग्ने बताउँदै उनले समाज शिक्षित र विवेकशील भइसकेको अवस्थामा पनि जातीय विभेदपूर्ण सोच राख्ने मानिसहरू अझै रहेकोमा आश्चर्य व्यक्त गरेकी छन्। आफ्नो जातीय पहिचानप्रति कुनै सङ्कोच नरहेको स्पष्ट पार्दै उनले भनेकी छन्, ‘यो मेरो अस्तित्व हो, मैले मेरो बाबाबाट पाएको। मेरो बाबा नेपाली हो र म यो कुरामा एकदमै गर्व गर्छु। मलाई यसमा कुनै सङ्कोच छैन।’ तर, आफूले हिमाल आरोहण गर्दा हिमाल अपवित्र भएको भन्ने टिप्पणीको अर्थ भने आफूले बुझ्न नसकेको उनको भनाइ छ। हिमाल आरोहणका क्रममा आफूहरूले प्रयोग गरेका सामग्री तथा फोहोरसमेत व्यवस्थित रूपमा तल ल्याएर सम्बन्धित अधिकारीलाई बुझाउने गरेको उनले बताएकी छन्। ‘हामीले फोहोर गरेका कुरा सबै तल ल्याएका हुन्छौँ। हाम्रो ट्वाइलेटसमेत पोको पारेर तल ल्याएर एसपीसीसी अफिसरलाई बुझाउनुपर्छ। सबै कुरा सफा र व्यवस्थित रूपमा हुन्छ। वातावरणलाई पनि हानि गरेका छैनौँ। यस्तो अवस्थामा हजुरले हिमाल अपवित्र भयो भन्नुको अर्थ के हो, मैले बुझ्न सकिनँ,’ उनले प्रश्न गरेकी छन्। आफू हिमालबाट फर्किएको करिब १० दिन भइसकेको र सामाजिक सञ्जालका सामान्य टिप्पणीलाई खासै महत्त्व नदिने गरेको उनले बताएकी छन्। तर, यस पटक जातीय पहिचानसँग जोडेर गरिएको टिप्पणीले चित्त दुखाएको उनको भनाइ छ। नेपालीले आफूले आरोहण गरेको हिमाल चढ्न पर्वतारोही मिङ तेम्बा शेर्पाको सहयोग महत्त्वपूर्ण रहेको उल्लेख गरेकी छन्। उनले मिङ तेम्बा शेर्पालाई आफ्नो पर्वतारोहण यात्रामा सहयोग गर्ने व्यक्ति भन्दै सम्मान व्यक्त गरेकी छन्। ‘मिङ तेम्बा शेर्पा दाइको सहयोग नभएको भए सायद मैले हिमाल चढ्न सक्दिनथेँ होला । उहाँ हाम्रो पर्वतारोहण समुदायको मेरुदण्ड हुनुहुन्छ। उहाँप्रति मेरो ठुलो सम्मान छ,’ उनले भनेकी छन्। एउटै समुदायमा असल र सहयोगी व्यक्तिसँगै जातीय विभेदपूर्ण सोच राख्ने व्यक्ति पनि हुन सक्ने भन्दै उनले टिप्पणी गर्ने व्यक्तिलाई आफ्नो भनाइ स्पष्ट पार्न आग्रह गरेकी छन्। आफूजस्तै कामी, दमाई, सार्की, विश्वकर्मा, परियार, नेपालीलगायत समुदायका अन्य व्यक्तिका लागि पनि आफ्नो जवाफ भएको उनले बताएकी छन्। टिप्पणी गर्ने व्यक्तिलाई आफ्नो वास्तविक अनुहार सार्वजनिक गर्नसमेत उनले आग्रह गरेकी छन्। ‘म जस्तै अरू व्यक्ति पनि हुनुहुन्छ, जसको जात कामी होला, दमाई होला, सार्की होला, विश्वकर्मा, परियार, नेपाली वा अरू केही होला। उहाँहरूका लागि पनि मेरो तर्फबाट जवाफ हो। लाक्पा दाइ, आफ्नो अनुहार देखाइदिनुहुन्छ भने राम्रो,’ उनले भनेकी छन्। जातीय विभेद र सामाजिक विकृति फैलाउने गतिविधि गर्ने व्यक्तिविरुद्ध साइबर ब्युरोमा जानुपर्ने अवस्था आउन सक्ने चेतावनीसमेत उनले दिएकी छन्। आगामी दिनमा पनि यस्ता टिप्पणी दोहोरिए कानुनी प्रक्रियामा जाने उनको भनाइ छ। ‘अहिले ठिक छ, तर अझै यस्ता कुरा आए र कमेन्ट दोहोरिए कानुनी रूपमा जानुपर्ने अवस्था आउन सक्छ । त्यसैले यस्तो नगर्नुहोला। सभ्य नागरिक बनौँ,’ उनले आफ्नो भिडियो सन्देशमा भनेकी छन् । कविता नेपाली एक चर्चित नेपाली नृत्याङ्गना, मोडल र अभिनेत्री हुन् । उनले रियालिटी सो ‘बुगी वुगी’ जितेपछि चर्चा बटुलेकी थिइन् । सन् २०२५ मा उनले २४ घण्टाको अन्तरमा सगरमाथा र ल्होत्से हिमालको सफल आरोहण गरेर कीर्तिमान समेत कायम गरेकी थिइन् ।