काठमाडौँ-हेटौँडा चल्ने सवारी रात्रिकालीन चलाउन निषेध, साँझ आठ बजेभित्र फर्पिङ पुग्नुपर्ने

  • शुक्रबार​ २८ कात्िक २०८३ ०८:२७ PM
काठमाडौँ । काठमाडौँको बल्खु-दक्षिणकाली हुँदै हेटौँडा चल्ने यात्रुवाहक भाडाका तथा सार्वजनिक सवारीसाधनको सञ्चालनमा समय सीमा तोकिएको छ । अब उक्त मार्गमा चल्ने सवारीसाधन साँझ आठ बजेभित्र फर्पिङ प्रहरी जाँच चौकी पुगिसक्नुपर्नेछ भने बिहान पाँच बजेपछि मात्रै बल्खुबाट सञ्चालन गर्न पाइनेछ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पछिल्लो समय उक्त सडक खण्डमा सवारी दुर्घटना बढ्दै गएको र मानवीय क्षति भयावह बन्दै गएको भन्दै यात्रुको सुरक्षाका लागि यस्तो व्यवस्था लागू गरेको हो । जिल्ला सुरक्षा समिति काठमाडौँको निर्णयअनुसार काठमाडौँ-बल्खु-दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक सार्वजनिक सवारीसाधन साँझ आठ बजेभित्र फर्पिङ प्रहरी जाँच चौकी पुगिसक्नुपर्नेछ । त्यस्तै, बिहान पाँच बजेपछि मात्रै बल्खुबाट उक्त मार्गमा सवारीसाधन सञ्चालन गर्न पाइने सूचनामा उल्लेख छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार साँघुरा सडक, भिरालो तथा घुम्तीयुक्त मार्ग, यान्त्रिक अवस्था ठिक नभएका सवारीसाधन, चालकको लापरबाही र तीव्र गतिका कारण उक्त सडक खण्डमा बारम्बार गम्भीर दुर्घटना भइरहेका छन् । उनका अनुसार रातिको समयमा अँध्यारो सडकमा यात्रा गर्नुपर्ने अवस्था, एकै दिनमा धेरै पटक ओहोरदोहोर गर्नुपर्ने प्रतिस्पर्धाका कारण चालकमा हुने अत्यधिक तनाव र अनिद्राले पनि दुर्घटनाको जोखिम बढाएको छ । प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार मादक तथा लागूपदार्थ सेवन गरी सवारी चलाउने गरेको गुनासोसमेत प्राप्त भएको सूचनामा उल्लेख छ । प्रशासनले यात्रुवाहक भाडाका तथा सार्वजनिक सवारीसाधन सञ्चालन गर्नुअघि तिनको यान्त्रिक अवस्था पूर्ण रूपमा जाँच गर्न पनि निर्देशन दिएको छ । त्यसै गरी, काठमाडौँ जिल्लाभित्र उक्त सडक खण्डमा पर्ने प्रहरी इकाई तथा ट्राफिक प्रहरीले प्रत्येक यात्रुवाहक सवारीसाधन अनिवार्य रूपमा जाँच गर्ने व्यवस्था मिलाउन भनिएको छ । प्रमुख जिल्ला अधिकारी पौडेलले जारी गरेको सूचनामा यात्रुको सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि तोकिएको व्यवस्था कार्यान्वयन गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ ।