मकवानपुर । मकवानपुरको भीम फेदी गाउँपालिका-६ चिसापानी गढीस्थित भीम फेदी-कुलेखानी-काठमाडौँ सडक खण्डमा यात्रुवाहक माइक्रो बस दुर्घटना हुँदा चालकसहित १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार शुक्रवार बिहान करिब पौने ६ बजे काठमाडौँबाट सर्लाही जाँदै गरेको मधेस प्रदेश ०३-००१ ज ०८८० नम्बरको माइक्रो बस सडकबाट करिब पाँच सय मिटर तल भिरमा खसेको हो । दुर्घटनामा चालकसहित १० जनाको मृत्यु भएको र पाँच जना घाइतेको उद्धार गरिएको प्रारम्भिक विवरण प्राप्त भएको छ । दुर्घटनामा ज्यान गुमाउने तथा घाइते हुनेको पहिचान र अन्य विस्तृत विवरण आउन बाँकी रहेको छ । दुर्घटनाको कारणसमेत खुल्न सकेको छैन ।