देउसी-भैलोमा अश्लील नृत्य गरेको आरोपमा दुई महिला प्रहरी नियन्त्रणमा

  • बिहीबार २७ कात्िक २०८३ १०:२२ AM
रुपन्देही । देउसी-भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देहीमा दुई जना महिला प्रहरी नियन्त्रणमा परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकता विपरीत हुने गरी देउसी-भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले कात्तिक २६ गते राति करिब १२ बजे लुम्बिनी सांस्कृतिक नगरपालिका-१० महिलावर बजारबाट उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा रुपन्देहीको देव दह नगरपालिका-७ की ३० वर्षीय चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका-३ की २१ वर्षीय प्राप्ति बस्नेत रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले विज्ञप्तिमार्फत यसबारे जानकारी दिएका हुन् । उनीहरूमाथि सार्वजनिक हित र नैतिकताविरुद्धको कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीले परम्परागत देउसी-भैलो कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति र सामाजिक सद्भावको संरक्षण विपरीत अश्लील नृत्य, गीत तथा सङ्गीत प्रदर्शन गरेमा प्रचलित कानुनअनुसार कारबाही हुनेसमेत जनाएको छ ।