जुनसुकै जिल्लाबाट नेपाली नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था कार्यान्वयनमा, यस्तो छ प्रक्रिया

  • मङगलबार २५ कात्िक २०८३ ०७:११ PM
काठमाडौँ । नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको जिल्ला बाहेक अन्य जिल्लाबाट पनि नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था कार्यान्वयनमा आएको छ । नेपाली नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ ले नागरिकताको प्रतिलिपि लिनुपर्ने अवस्था भएमा आफूले नागरिकता प्राप्त गरेको जिल्लाबाहेक अन्य जिल्लाबाट समेत प्रतिलिपि लिन सक्ने व्यवस्था गरेको हो । नियमावलीको नियम १६ घ अनुसार आगलागी वा पानीले भिजेर नागरिकताको प्रमाणपत्र नष्ट भएमा, च्यातिएर काम नलाग्ने भएमा, हराएमा वा नयाँ ढाँचामा नागरिकता आवश्यक परेमा अन्य जिल्लाबाट प्रतिलिपि लिन सकिनेछ । यसका लागि सम्बन्धित व्यक्तिले अनुसूची १८ बमोजिमको ढाँचामा आफू रहेको जिल्लाका प्रमुख जिल्ला अधिकारीसमक्ष तोकिएका कागजातसहित निवेदन दिनुपर्नेछ । अनुसूची १८ मा अन्य जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन चाहने व्यक्तिले प्रमुख जिल्ला अधिकारीसमक्ष पेस गर्नुपर्ने निवेदनको ढाँचा उल्लेख गरिएको छ । नियमावलीअनुसार नागरिकताको प्रमाणपत्र च्यातिएर काम नलाग्ने भएको वा नयाँ ढाँचामा आवश्यक परेको अवस्थामा सक्कल नागरिकता प्रमाणपत्र पेस गर्नुपर्नेछ । त्यस्तै, आगलागी वा पानीले भिजेर नष्ट भएको अथवा हराएको अवस्थामा नागरिकताको प्रतिलिपि पेस गर्नुपर्ने व्यवस्था छ । निवेदनसँगै राष्ट्रिय परिचयपत्रको प्रतिलिपि वा राष्ट्रिय परिचयपत्र खुल्ने कागजातसमेत संलग्न गर्नुपर्नेछ । अन्य जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन निवेदन प्राप्त भएपछि प्रमुख जिल्ला अधिकारीले निवेदकले पेस गरेको विवरण नागरिकता सूचना व्यवस्थापन प्रणालीमा रहेको विवरणसँग रुजु गर्नुपर्नेछ । त्यसपछि निवेदकको जैविक विवरण लिएर राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणसम्बन्धी प्रचलित कानुनबमोजिम राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीमा रहेको विवरणसँग रुजु गर्नुपर्ने व्यवस्था छ । दुवै प्रणालीमा रहेका विवरण रुजु गरी यकिन भएपछि नागरिकता सूचना व्यवस्थापन प्रणालीमा रहेबमोजिमको विवरण उल्लेख गरेर प्रमुख जिल्ला अधिकारीले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि जारी गर्न सक्नेछन् । यस व्यवस्थाबारे जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक साताअघि नै सूचना जारी गर्दै अन्य जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन आउने सेवाग्राहीले आवश्यक कागजात र पूरा गर्नुपर्ने प्रक्रियाबारे जानकारी गराइसकेको प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले समता प्रेसलाई जानकारी दिए । गृह मन्त्रालयका अनुसार अन्य जिल्लाबाट नेपाल नागरिकताको प्रतिलिपि लिन पाउने नयाँ व्यवस्था कार्यान्वयनका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरिसकिएको छ । मन्त्रालयका उपसचिव एवम् नागरिकता तथा राष्ट्रिय परिचयपत्र शाखा प्रमुख उमाकान्त अधिकारीले काठमाडौँ, ललितपुर र भक्तपुरमा तिहार बिदा सुरु हुनुअघि नै यो व्यवस्था कार्यान्वयनमा आइसकेको समता प्रेसलाई बताए। अन्य जिल्लामा पनि व्यवस्था कार्यान्वयनमा आइसकेको भए पनि हालसम्म कति जिल्लामा सुरु भयो भन्ने यकिन विवरण प्राप्त भई नसकेको उनको भनाई छ । तिहार बिदापछि सरकारी कार्यालय खुलेपछि मात्रै देशभरको कार्यान्वयन अवस्थाबारे यकिन विवरण प्राप्त हुने अधिकारीले जानकारी दिए । नयाँ व्यवस्थाले नागरिकता प्राप्त गरेको जिल्ला पुग्नुपर्ने बाध्यता हटाउँदै अन्य जिल्लामा बसोबास गरिरहेका नागरिकलाई प्रतिलिपि लिन सहज बनाउने अपेक्षा गरिएको छ ।