काठमाडौँ । दसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वलाई लक्षित गर्दै गृह मन्त्रालयले देशभर सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएको छ । मन्त्रालयले चाडपर्वका अवसरमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, सडक तथा यातायात सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सुरक्षा निकायलाई सक्रिय बनाएको हो । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई पठाएको सूचनामा चाडपर्वका बेला शान्ति, सुरक्षा र अमन चयन कायम राख्न विशेष सुरक्षा योजना लागू गर्न निर्देशन दिएको छ । चाडपर्वमा हुने भिडभाड, आवतजावत र आर्थिक कारोबारलाई ध्यानमा राख्दै सम्भावित जोखिम नियन्त्रणका लागि आवश्यक व्यवस्था मिलाउन भनिएको छ । मन्त्रालयका अनुसार चाडपर्वमा हुन सक्ने चोरी, लुटपाट तथा आपराधिक गतिविधि नियन्त्रण गर्न उधारो, मुख्य सडक र भिडभाड हुने क्षेत्रमा सुरक्षा निगरानी बढाइनेछ । यात्रु तथा सवारीसाधनको चाप व्यवस्थापन गर्न ट्राफिक प्रहरी परिचालन गरिनेछ भने यात्रु सहायता कक्षसमेत सञ्चालन गरिनेछ । त्यस्तै, धार्मिक तथा सांस्कृतिक कार्यक्रमका क्रममा सामाजिक सद्भाव कायम राख्न आवश्यक व्यवस्था मिलाउन भनिएको छ । बजार अनुगमन, खाद्यवस्तुको गुणस्तर तथा मूल्य नियन्त्रण, अवैध कारोबार र विस्फोटक पदार्थको प्रयोग नियन्त्रणमा समेत ध्यान दिन मन्त्रालयले निर्देशन दिएको छ । चाडपर्वका बेला हुन सक्ने जुवा तास, अनलाइन तथा विद्युतीय माध्यमबाट हुने ठगीलगायत गतिविधि नियन्त्रणका लागि सम्बन्धित निकायबिच समन्वय गर्न पनि भनिएको छ । खाद्यान्न, इन्धन तथा उपभोग्य वस्तुको कृत्रिम अभाव, कालोबजारी, अत्यधिक मूल्यवृद्धि र गुणस्तरहीन वस्तुको बिक्री वितरण रोक्न बजार अनुगमन टोली परिचालन गरिने मन्त्रालयको सूचनामा उल्लेख छ । सीमा नाकाबाट हुने अवैध ओसारपसार नियन्त्रण गर्न तथा सीमावर्ती क्षेत्रमा चोरी पैठारी हुन नदिन पनि सुरक्षा निगरानी बढाउन निर्देशन दिइएको छ । चाडपर्वका समयमा हुन सक्ने विपद् तथा दुर्घटनालाई ध्यानमा राख्दै उद्धार र प्रतिकार्यका लागि आवश्यक तयारी गर्नसमेत भनिएको छ । यसैबिच, गृह मन्त्रालयले तिहारलगायत पर्वमा खेलिने देउसी-भैलो कार्यक्रम मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ । मन्त्रालयले २४ घण्टा देउसी-भैलो कार्यक्रम सञ्चालन गर्न दिन आग्रह गर्दै त्यसका लागि आवश्यक व्यवस्थापन मिलाउन भनेको हो । मन्त्रालयले नेपाली मौलिक कला र संस्कृतिलाई प्रोत्साहन तथा सामाजिक सद्भावको संरक्षण हुने गरी परम्परागत देउसी-भैलो कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ । कार्यक्रम पूर्ण रूपमा स्वैच्छिक र मर्यादित हुनुपर्ने तथा कसैलाई पनि चन्दा वा दक्षिणा दिन बाध्य नपार्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ । त्यस्तै, विभिन्न जातजाति, धर्म, भाषा, लिङ्ग वा समुदायप्रति घृणा तथा द्वेष फैलाउने किसिमका अश्लील नृत्य, गीत, सङ्गीत वा नारा प्रयोग गर्न नदिन भनिएको छ । चाडपर्व मनाउने क्रममा जुवा तास नखेल्ने, सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला नगर्ने तथा मादक पदार्थ वा लागू पदार्थ सेवन गरी सवारीसाधन नचलाउने व्यवस्था मिलाउन मन्त्रालयले आग्रह गरेको छ । पटका तथा आतसबाजी जस्ता जोखिमयुक्त वस्तुको प्रयोग नगर्न पनि सचेत गराइएको छ । अत्यधिक ठुलो आवाजमा ध्वनि प्रणाली तथा ध्वनि उपकरण प्रयोग नगर्न र अस्पताल तथा वृद्धाश्रमजस्ता संवेदनशील क्षेत्रमा विशेष सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ । सार्वजनिक तथा निजी सम्पत्तिको संरक्षण गर्दै वातावरणीय स्वच्छता कायम राख्ने र जथाभाबी फोहोर मैला नगर्ने व्यवस्था मिलाउनसमेत भनिएको छ । देउसी-भैलो सञ्चालन वा चाडपर्व मनाउने क्रममा कुनै शङ्कास्पद गतिविधि देखिएमा, दुर्घटना भएमा वा समस्या परेमा प्रहरी नियन्त्रण कक्ष १०० वा आपत्कालीन कार्य सञ्चालन केन्द्रको नम्बर १२३४ मा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ ।