काठमाडौँ । तिहारको उज्यालो र उमङ्ग छाइरहँदा नेपाली सङ्गीत बजारमा भने एउटा देउसी गीतले राजनीतिक र सामाजिक वृत्तमा गर्मा गर्मी बहस छेडिदिएको छ । लोक गायक शङ्कर क्षेत्रीको शब्द, सङ्गीत र स्वरमा सार्वजनिक भएको 'हामीलाई जागिर चाहियो' बोलको देउसी ब्याटल गीत यति बेला सामाजिक सञ्जालमा डढेलो सरी फैलिएको छ । यो गीत परम्परागत सेल रोटी र आशिष् दिने देउसी मात्र होइन, बरु युवाको आक्रोश, बेरोजगारीको पीडा र देशको शीर्ष राजनीतिमाथिको कडा व्यङ्ग्य प्रहार बनेर आएको छ । जेनजी भर्सेस बालेन टोली: भिडियोमै रोचक घम्साघम्सी म्युजिक भिडियोमा प्रस्तुत गरिएको थिम आफैँमा निकै आकर्षक छ । भिडियोमा जेनजी टिम र बालेन टिम बिचको रोचक वैचारिक जुहारी देखाइएको छ । नयाँ पुस्ताका युवाले देशको वर्तमान बेथिति, बढ्दो विदेश पलायन र बेरोजगारीलाई लिएर देउसीका टुक्का मार्फत बालेन सरकारलाई प्रश्न गरिरहेका छन् । गीतमा सपना मगर, रेणु लामिछाने, परमेश घिमिरे, प्रेम बिके र सन्देश सुवेदी लगायतका कलाकारको दमदार गायन र अभिनय रहेको छ । रवि लामिछानेदेखि बालेन र केपी ओलीसम्म: कोही अछुतो रहेनन् परम्परागत रूपमा खेलिने देउसी भैलोको लयलाई समातेर गायक क्षेत्रीले वर्तमान राजनीतिक सङ्कट र चर्चित पात्रलाई सिधै तारो बनाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र सहकारी ठगी प्रकरणलाई समेटेर गाइएका टुक्काले यति बेला सामाजिक सञ्जालमा ठुलै हलचल ल्याएका छन् । यस्तै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र वर्तमान सभापति गगन थापा जस्ता शीर्ष नेताका साथै प्रधानमन्त्री बालेन शाहमाथि पनि गीतमा व्यङ्ग्य कसिएको छ । यसका साथै गीतले नेपालको संवेदनशील सीमा विवादको मुद्दालाई पनि दह्रोसँग उठाएको छ । युट्युब र टिकटकमा भाइरल: तारिफ र आक्रोशको बाढी यो समाचार तयार पार्दासम्म टिकटक र फेसबुकमा गीतका क्लिप लाखौँ पटक हेरिसकिएका छन् । श्रोता र दर्शक भने दुई धारमा बाँडिएका छन् । एउटा ठुलो तप्काले भनिरहेको छ, यतिको गीत हुनुपर्छ, देशको वास्तविक यथार्थ र युवाको मनको बह पोखिएको छ । तर, अर्कोतर्फ रास्वपाका शुभचिन्तक र केही सर्वसाधारणले यसको तीव्र विरोध गरिरहेका छन् । टिकटकका कमेन्ट बक्समा कतिपयले त गायकलाई सिधै कारबाही गर्नुपर्ने र गीत प्रतिबन्ध गर्नुपर्ने सम्मको माग राखेका छन् । 'यो कसैको विरोध होइन, जनताको आवाज हो': गायक शङ्कर क्षेत्री चारैतिरबाट विवाद र आलोचनाको घेरामा परेपछि गायक शङ्कर क्षेत्रीले आफ्नो तर्फबाट स्पष्टीकरण दिएका छन् । उनले यो गीत कुनै दल वा नेता विशेषलाई बदनाम गराउन वा व्यक्तिगत रिसइबी साध्न नबनाइएको बताएका छन् । क्षेत्री भन्छन्, 'यो सरकारको विरोध होइन, देशको नागरिक हुनुको नाताले समसामयिक विषय र युवाको बेरोजगारी पीडालाई रचनात्मक रूपमा सरकारसम्म पुर्याउने एउटा सुझाव मात्र हो ।' चाहे प्रशंसा होस् या आलोचना, यति बेला यो देउसी गीतले नेपाली सङ्गीत उद्योगमा वर्षकै सबैभन्दा धेरै बहस र कौतूहल पैदा गर्ने भाइरल देउसी भैलो गीत बन्न सफल भएको छ ।