‘तिलस्मी’को पोस्टर सार्वजनिक, तीन प्रमुख पात्र आकर्षक शैलीमा

  • सोमबार २४ कात्िक २०८३ ०१:२२ PM
काठमाडौँ । तारा अधिकारीको निर्देशनमा निर्माण भएको नेपाली चलचित्र ‘तिलस्मी’को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका तीन प्रमुख पात्रलाई रोचक र आकर्षक शैलीमा प्रस्तुत गरिएको छ । सुनौलो तारा मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रको पोस्टरमा कलाकार जाहन्वी बस्नेत, सुनिशा बजगाईँ र महेश खड्का देखिएका छन् । तीन पात्रलाई एक अर्कासँग जोडिएको फरक शैलीमा प्रस्तुत गरिएको पोस्टरले चलचित्रको विषयवस्तुप्रति दर्शकमाझ कौतूहल जगाउने अपेक्षा गरिएको छ । आगामी पुस २४ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रमा जाहन्वी बस्नेत, सुनिशा बजगाईँ, महेश खड्का, आरजे सिंह, रश्मि भट्ट, भविष्य कार्की र सुभाष भण्डारीलगायत कलाकारको अभिनय रहेको छ । चलचित्रको कथा, निर्माण तथा निर्देशन तारा अधिकारीले गरेकी हुन् । गीतकारसमेत रहेकी अधिकारीको यो पहिलो चलचित्र निर्देशन हो । चलचित्रको पटकथा तथा संवाद बाबुराम निरौलाले लेखेका छन् भने सङ्गीत सुमन केसी र किरण कँडेलले दिएका छन् । चलचित्रको छायाङ्कन विनोद बलले गरेका छन् । ध्वनि संयोजन अमित श्रेष्ठ, प्रमुख सहायक निर्देशन इलियास शेख र सहायक निर्देशन अनुजा अधिकारीले गरेका छन् । त्यस्तै, निर्माण व्यवस्थापनको जिम्मेवारी मनिष डिके र सुवास राईले सम्हालेका छन् । चलचित्रको पृष्ठभूमि सङ्गीत पार्किष गिरी र अमित श्रेष्ठले तयार पारेका छन् भने सम्पादन नहकुल खड्काले गरेका छन् । पारिवारिक कथावस्तुमा आधारित चलचित्र ‘तिलस्मी’मा राजीव समरको नृत्य निर्देशन र राजेन्द्र मोक्तानको रङ संयोजन रहेको छ । प्रचार सामग्रीको डिजाइन टौवा क्रियसनले गरेको हो । चलचित्रको वितरण कृति इन्टरटेनमेन्ट र नेसनल सिने ग्रुपले गर्ने भएका छन् ।