दरबारमार्गमा २३औँ काग सम्मेलन : काग कराएर रमेश दुलालले बोलाए सयौँ काग

  • शनिबार २२ कात्िक २०८३ ११:२५ AM
काठमाडौँ । काग तिहारका अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले शनिबार बिहान दरबारमार्गस्थित नारायणहिटी दरबार सङ्ग्रहालयअगाडि कागको आवाज निकालेर सयौँ काग जम्मा पारेका छन् । राष्ट्रिय संगीतकर्मी संघ केन्द्रीय कार्यसमितिको आयोजना र इलामको सन्दकपुर गाउँपालिकाको सहआयोजनामा २३औँ काग सम्मेलन गरिएको हो । काग तिहारको धार्मिक तथा सांस्कृतिक महत्त्व उजागर गर्न, मौलिक परम्परा संरक्षण गर्न र चराचुरुङ्गीप्रति सकारात्मक सन्देश प्रवाह गर्न सम्मेलन आयोजना गरिएको आयोजकले जनाएको छ । कागको आवाज नक्कल गर्न सक्ने दुलालले विगत २३ वर्षदेखि काग तिहारमा सम्मेलन गर्दै आएका छन् । यसअघि रत्नपार्क र नारायणहिटी दरबार सङ्ग्रहालयलगायत स्थानमा उनले यस्तो कार्यक्रम गरेका थिए । दुलालका अनुसार कागलाई आकर्षित गर्न त्यसको स्वभाव र आवाज बुझ्नुपर्छ । कागसँग उसकै भाषामा संवाद गर्दा नजिक आउने उनको अनुभव छ । उनले कागसहित १७३ प्रकारका जनावर तथा चराचुरुङ्गीको आवाज र मुखबाट विभिन्न बाजाको धुन निकाल्ने कला प्रस्तुत गर्दै आएका छन् । काग तिहार यमपञ्चकको पहिलो दिन मनाइन्छ । नेपाली हिन्दू परम्परामा कागलाई यमराजको दूत मानी खानेकुरा दिएर पूजा गर्ने चलन छ । आयोजकले सम्मेलनमार्फत चराचुरुङ्गीको संरक्षण, जैविक विविधताको महत्त्व र वातावरणीय सन्तुलनको सन्देश दिन खोजिएको जनाएको छ । कार्यक्रमको मुख्य प्रायोजक एनआरएनएका वरिष्ठ उपाध्यक्ष रोबिन शेरचन र प्रायोजक उपाध्यक्ष प्रवीण गुरुङ थिए । सहप्रायोजकमा पूर्णप्रसाद लामिछाने, राजेश कार्की, रुद्रप्रसाद चापागाईं, शंकरप्रसाद आचार्य, ग्रीन सिटी हस्पिटल र कोरा होलिडेजलगायत थिए । जनसवाल पब्लिकेशन मिडिया पार्टनर थियो ।