भक्तपुर। तिहार सुरु भएसँगै भक्तपुरमा सयपत्री फूल र मखमली मालाको मूल्य बढेको छ । व्यापारीले किसानको घरदैलोमै पुगेर प्रतिस्पर्धामा फूलमाला खरिद गर्न थालेपछि किसानले पाउने मूल्य पनि बढेको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुका किसानबाट शुक्रबारसम्म प्रतिगोटा २२ देखि २५ रुपैयाँमा खरिद गरिएको मखमली माला आजदेखि ३० देखि ३५ रुपैयाँमा कारोबार हुन थालेको हो । बजारमा भने त्यही माला ८० देखि ९० रुपैयाँसम्ममा बिक्री भइरहेको स्थानीय पुष्प व्यवसायीले बताएका छन् । गुण्डुकी पुष्प व्यवसायी प्रमिला घतानीले घरदैलोमा आएका व्यापारीले आजदेखि प्रतिमाला ३० देखि ३५ रुपैयाँमा खरिद गर्न थालेको बताइन् । चाँगुनारायण नगरपालिका–९ ताथलीका बनमालाले पनि तिहारसँगै बिक्री र मूल्य बढेको बताए । उनका अनुसार आजदेखि मखमली माला प्रतिगोटा ३० रुपैयाँमा बिक्री गरिएको छ । गुण्डुमा पछिल्लो १५ वर्षदेखि व्यावसायिक रूपमा फूलमाला बिक्री गर्दै आएकी मीना नगरकोटीले व्यापारीबीचको प्रतिस्पर्धाले किसानलाई राहत मिलेको बताइन् । तर किसानबाट खरिद गरेको मूल्यभन्दा व्यापारीले दोब्बर–तेब्बरसम्ममा बिक्री गर्ने गरेको उनको भनाइ छ । स्थानीय उर्मिला नगरकोटीका अनुसार फूलमालाको व्यापारबाट एक परिवारले एक लाखदेखि तीन लाख रुपैयाँसम्म आम्दानी गरेका छन् । गुण्डुबाट मात्रै वर्षमा पाँच करोड रुपैयाँभन्दा बढीको फूलमाला उत्पादन तथा बिक्री हुने गरेको उनले बताइन् । स्थानीय अनिता बस्नेतले यस वर्ष ४० आना अर्थात् साढे दुई रोपनीमा गरेको फूलखेतीबाट तीन लाख रुपैयाँ आम्दानी गरेको बताइन् । उनका अनुसार चार–पाँच सयपत्री फूलको मुठा बनाएर प्रतिमुठा २० देखि २५ रुपैयाँमा बिक्री गर्ने गरिएको छ । सयपत्री पाथी तथा ढ्वाङमा भरेर पनि बिक्री गरिन्छ । तीन पाथीभन्दा बढी अट्ने ढ्वाङको फूल किसानले ७०० रुपैयाँसम्ममा बिक्री गरेको बस्नेतले बताइन् । बजारमा भने सयपत्री प्रतिकिलो ४०० देखि ५०० रुपैयाँसम्ममा बिक्री भइरहेको उनको भनाइ छ । स्थानीयका अनुसार यहाँका घरपरिवारले मखमली माला उनेर वर्षमा ५०० देखि १० हजार रुपैयाँसम्म आम्दानी गर्छन् । कतिपय घरबाट ३० हजारदेखि तीन लाख रुपैयाँसम्मको सयपत्री बिक्री हुने गरेको छ । मध्यपुरथिमि नगरपालिका–५ राधेराधेस्थित पूजा पसल सञ्चालक कमलनाथ पौडेलले आज सयपत्री प्रतिकिलो ४५० रुपैयाँ र मखमली माला प्रतिगोटा ७० रुपैयाँमा बिक्री गरिरहेको बताए । भोलिदेखि मूल्य अझै बढ्न सक्ने उनको अनुमान छ । पुष्प व्यवसायी रामेश्वर बासीले यस वर्ष लामो झरी र वर्षाका कारण सयपत्रीको उत्पादन नष्ट हुँदा मूल्य बढेको बताए । टनेलबाहिर खुला रूपमा गरिएको फूलखेती नष्ट भएको र टनेलमा उत्पादित फूल बजारमा आएको उनको भनाइ छ । बासीका अनुसार सयपत्रीका माला लम्बाइअनुसार प्रतिगोटा १५० देखि ८०० रुपैयाँसम्ममा बिक्री भइरहेका छन् ।