काठमाडौं । सस्तोमा अमेरिकी डलर साटिदिने प्रलोभन देखाएर दुई जनाबाट १६ लाख रुपैयाँ ठगी तथा लुटपाट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ बस्दै आएका २८ वर्षीय सुजन तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो। प्रहरीका अनुसार तामाङले असोज २२ गते विभिन्न व्यक्तिलाई फोन गरी आफूसँग अमेरिकी डलर रहेको र सस्तोमा साटिदिने बताएका थिए। विश्वास दिलाउन उनले ५० अमेरिकी डलरको नोटसमेत देखाएका थिए। त्यसपछि असोज २३ गते गोकर्णेश्वर नगरपालिका–१२ स्थित लसुनटारमा बोलाएर दुई जनाबाट आठ–आठ लाख रुपैयाँ ठगी तथा लुटपाट गरी उनी जंगलतर्फ फरार भएको प्रहरीले जनाएको छ। खोजीमा खटिएको प्रहरी टोलीले उनलाई कात्तिक १९ गते साँझ करिब ६:४५ बजे गोकर्णेश्वर नगरपालिका–३ गाम्चास्थित सडकखण्डमा फेला पारेको थियो। पक्राउ गर्ने क्रममा तामाङले चक्कु प्रहार गर्दा एक प्रहरी घाइते भएको प्रहरीको भनाइ छ। चेतावनीस्वरूप एक राउन्ड हवाई फायर गर्दा पनि नियन्त्रणमा नआएपछि परिस्थितिको मूल्याङ्कन गरी घुँडामुनि लक्षित गरेर एक राउन्ड गोली चलाएको प्रहरीले जनाएको छ। घाइते तामाङको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। प्रहरीका अनुसार उनी यसअघि पनि डलर देखाएर ठगी तथा लुटपाट गरेको आरोपमा आठ पटक पक्राउ परी कानुनी कारबाहीमा परिसकेका छन्। स्वयम्भू, बुढानीलकण्ठ र साँखु क्षेत्रमा सुन देखाएर रकम लुटपाट गरेको आरोपमा समेत उनीमाथि अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानमा तामाङ समूह बनाएर उपत्यकाका विभिन्न स्थानमा डलर ठगी तथा लुटपाटमा संलग्न रहेको देखिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको छ। ठगी धन्दामा पेशेवर बनिसकेका तामाङ प्रहरीका अनुसार समूहले गेस्ट हाउस, रेस्टुरेन्ट, सुनचाँदी पसल, हार्डवेयर, मेडिकल, डेरी तथा होलसेल पसलका होर्डिङ बोर्डमा राखिएका सम्पर्क नम्बर सङ्कलन गरेर सञ्चालकलाई फोन गर्ने गरेको थियो। चिनजान भएजस्तो गरी कुराकानी गर्ने, आफ्नो दुःख सुनाउने र सस्तोमा अमेरिकी डलर साटिदिने प्रलोभन देखाएर विश्वासमा पार्ने गरेको प्रहरीले जनाएको छ। समूहका एक सदस्यले बोल्न नसक्ने व्यक्तिको अभिनय गर्ने र सुरुमा सक्कली डलर दिएर विश्वास दिलाउने गरेको प्रहरीको भनाइ छ। त्यसपछि प्रहरीको निगरानी नभएका एकान्त वा जंगल क्षेत्रमा बोलाएर डलर साट्ने बहानामा रकम लुट्ने गरेको अनुसन्धानमा देखिएको छ। प्रहरीका अनुसार समूहले रुमालमा पोको पारिएको बन्डलको अगाडि र पछाडि पाँच, १० र ५० अमेरिकी डलरका नोट राख्ने तथा बीचमा नोटको आकारका सेता कागज वा नेपाली २० रुपैयाँका नोट राखेर पीडितलाई दिने गरेको थियो। घटनापछि मोटरसाइकलको नम्बर प्लेट र आफ्नो हुलिया परिवर्तन गर्ने तथा मोबाइल र सिमकार्डसमेत फेरिरहने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। समूहले सीसीटीभीको पहुँच नभएका नाङ्लेभारे, लप्सीफेदी, सुन्दरीजल, तारेभिर, शिवपुरी र नागार्जुनलगायतका स्थानलाई ठगीका लागि प्रयोग गर्ने गरेको प्रहरीको भनाइ छ। मोटरसाइकल र नक्कली सुन बरामद प्रहरीले तामाङको साथबाट ठगीमा प्रयोग गरिएका मोटरसाइकल, नक्कली नम्बर प्लेट, नेपाली २० रुपैयाँका चार बन्डल र डलरको आकारमा काटिएका सेता कागजको बन्डल बरामद गरेको जनाएको छ। कागजको बन्डलको माथि र तल राखिएका पाँच अमेरिकी डलरका नोट, एक किलो नक्कली सुनको ढिक्का तथा विभिन्न कम्पनीका मोबाइलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। तामाङसँग सम्बन्धित अन्य घटना तथा समूहमा संलग्न व्यक्तिबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।