सरकारका कमजोरी ढाकछोप गर्न कांग्रेसविरुद्ध हल्ला फैलाइयो : डिला संग्रौला

  • शुक्रबार​ २१ कात्िक २०८३ ०४:०५ PM
काठमाडौँ । नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले सरकारले आफ्ना कमजोरी र अक्षमता ढाकछोप गर्न कांग्रेस तथा सभापति गगन थापाविरुद्ध निराधार हल्ला फैलाएको आरोप लगाएकी छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा उनले सुशासन र प्रेस स्वतन्त्रताबारे प्रश्न उठाउँदा कांग्रेस नेतृत्वलाई इनम प्रकरणसँग जोडेर बदनाम गर्ने प्रयास भएको दाबी गरिन् । ‘कांग्रेस सभापति गगन थापाले पत्रकारले समाचार लेखेकै भरमा बालेन सरकारले किन कलम बन्द गराएको हो भनेर सवाल उठाउनुभएको हो,’ उनले भनिन्, ‘सुकुम्बासी, किसान, मजदुर र आम जनताले सुशासनको अनुभूति गर्न नसकेको विषयमा प्रश्न उठाउँदा कांग्रेस र सभापति थापामाथि इनम प्रकरणमा जोडेर बन्द कोठाबाट प्रायोजित हल्ला चलाइयो ।’ सरकारले प्रमाणबिना १८ करोड रुपैयाँको ‘डिल’ भएको भाष्य निर्माण गरेर थापालाई बदनाम गर्न खोजेको उनको आरोप छ । आफ्ना गलत काम लुकाउन सरकारले थापालाई पक्राउ गर्ने हल्ला फैलाएको पनि उनले दाबी गरिन् । संग्रौलाले कांग्रेस लोकतन्त्र, गणतन्त्र, नागरिकका मौलिक अधिकार र प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताइन् । राणा शासन, पञ्चायत र राजासँग नडराएको कांग्रेस वर्तमान सरकारसँग पनि नडराउने भन्दै उनले षड्यन्त्र बन्द गर्न चेतावनी दिइन् । न्यायालय, प्रहरी र सञ्चारजगतमाथि सरकारले हस्तक्षेप बढाएको आरोप लगाउँदै उनले यसबाट लोकतन्त्र सङ्कटमा पर्ने चिन्ता व्यक्त गरिन् । ‘बालेन सरकारको राज्य आतङ्क र निरङ्कुशता यसरी नै बढ्दै गएमा कांग्रेस चुप लागेर बस्दैन र सञ्चारजगत् पनि चुप लागेर बस्नु हुँदैन,’ उनले भनिन्, ‘देश फेसबुकका स्टाटस, लाइक र कमेन्टले चल्दैन, विधि, कानुन र सुशासनले चल्छ ।’