प्रेसमाथिको हस्तक्षेपविरुद्ध पत्रकार महासंघले गुहार्‍यो राष्ट्रपति, प्रेस काउन्सिल अध्यादेश जारी नगर्न आग्रह

  • शुक्रबार​ २१ कात्िक २०८३ ०४:१० PM
काठमाडौँ। नेपाल पत्रकार महासंघले प्रेस काउन्सिल ऐन, २०४८ संशोधन गर्न बनेको अध्यादेश जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आग्रह गरेको छ । महासंघकी अध्यक्ष निर्मला शर्माको नेतृत्वमा पदाधिकारी, सल्लाहकार र केन्द्रीय सदस्यसहितको टोलीले आज राष्ट्रपतिसँग भेटेर अध्यादेशका प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा पार्न सक्ने प्रभावबारे ध्यानाकर्षण गराएको हो । सरोकारवालासँग पर्याप्त छलफल र परामर्श नगरी संसद् छलेर अध्यादेशमार्फत कानुन ल्याउनु लोकतान्त्रिक विधि र प्रक्रियासँग मेल नखाने महासंघले जनाएको छ । समाचार कक्षमा प्रवेश गरी प्रहरीले पत्रकारमाथि गरेको धरपकडबारे स्वतन्त्र छानबिन र दोषीलाई कारबाही नहुँदै सरकारले अध्यादेश ल्याएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई थप प्रभावित बनाएको महासंघको भनाइ छ । महासंघले संवैधानिक मर्मअनुसार विवेक प्रयोग गर्न राष्ट्रपतिलाई आग्रह गरेको छ । भेटमा महासंघले संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिएको स्मरण गराएको थियो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग प्रत्यक्ष सरोकार राख्ने कानुन निर्माण गर्दा नियमित विधायिकी प्रक्रिया अवलम्बन गर्नुपर्ने धारणा महासंघले राखेको छ । यसअघि महासंघले कात्तिक १९ गते ललितपुरमा आयोजना गरेको भेलाका सहभागीले पनि अध्यादेशका प्रावधान संविधानको मर्मविपरीत रहेको भन्दै राष्ट्रपतिलाई विवेक प्रयोग गर्न आग्रह गरेका थिए । महासंघका पूर्वअध्यक्ष, वरिष्ठ पत्रकार, कानुन व्यवसायी र मानवअधिकारकर्मीलगायत सहभागी भेलाले अध्यादेश फिर्ता लिन सरकारलाई पनि आग्रह गरेको थियो ।