परदेशमा १७ वर्ष बिताएका घिमिरेको सयपत्री खेती १४ रोपनीमा

  • शुक्रबार​ २१ कात्िक २०८३ ११:१२ AM
काभ्रे। तिहार नजिकिँदै गर्दा बनेपा नगरपालिका–१२ बासडोलका माधव घिमिरेको खेतमा सयपत्री ढकमक्क फुलेको छ । परदेशमा १७ वर्ष बिताएर फर्किएका ५९ वर्षीय घिमिरे अहिले फूलको स्याहार र बिक्रीको तयारीमा व्यस्त छन् । पाँच रोपनीबाट सुरु गरेको फूलखेती उनले अहिले १४ रोपनीमा विस्तार गरेका छन् । जापानी र थाई जातका हाइब्रिड सयपत्री लगाएका उनको खेतीमा १० जना कामदार संलग्न छन् । नौ वर्षअघि स्वदेश फर्किएका घिमिरेले सुरुका दुई–तीन वर्ष खासै काम गरेनन् । घरमै निष्क्रिय बस्न सहज नलागेपछि आफ्नै ठाउँमा केही गर्ने सोचले कृषि व्यवसाय रोजे । यसमा परिवारको पनि साथ पाए । पाँच वर्षअघि कृषि व्यवसाय सुरु गरेका उनले पहिलो दुई वर्ष गोलभेँडा र काँक्रो खेती गरे । त्यसबाट अनुभव बटुलेपछि दसैँ र तिहारमा माग हुने सयपत्रीको व्यावसायिक खेतीतर्फ लागे । पहिलो वर्षको उत्पादन र बिक्रीले हौसला दिएपछि खेती विस्तार गरेको उनी बताउँछन् । साउनदेखि बिरुवा रोप्न सुरु गरिने र करिब तीन महिनामा फूल बिक्रीका लागि तयार हुने उनको भनाइ छ । फूलको मौसम सकिएपछि पनि घिमिरे खेतबारी खाली राख्दैनन् । अन्य समयमा सागसब्जी तथा तरकारी लगाएर वर्षभरि जमिनको उपयोग गर्छन् । फूल रोप्ने, गोडमेल गर्ने, स्याहार्ने र टिप्ने काममा कामदारको सहयोग लिन्छन् । गत वर्ष करिब छ हजार किलो फूल उत्पादन गरेका घिमिरेले बिक्रीबाट करिब १८ लाख रुपैयाँ प्राप्त गरेका थिए । यो खर्च कटाउनुअघिको रकम हो । यस वर्ष पनि उत्पादन राम्रो भएको उनले बताए । तर उत्पादन राम्रो हुँदैमा आम्दानी सुनिश्चित नहुने उनको अनुभव छ । बजारको माग र मूल्यले आम्दानी निर्धारण गर्ने भएकाले उनी उचित भाउको प्रतीक्षामा छन् । ‘उत्पादन राम्रो भएको छ । अब बजारले कस्तो मूल्य दिन्छ भन्ने भोलिको कुरा हो । हतार गरेर फूल बिक्री गरेको छैन । तिहारको मुखमा राम्रो भाउ आउँछ कि भन्ने आशा छ,’ उनले भने । यस वर्ष फूलको मूल्य प्रतिकिलो करिब २५० रुपैयाँ पुग्ने उनको अपेक्षा छ । तिहार केही ढिलो परेकाले बिक्री र मूल्यमा असर पर्न सक्ने अनुमान पनि उनले गरेका छन् । पर्वका बेला धेरै किसानको उत्पादन एकैपटक बजारमा पुग्दा मूल्यमा उतारचढाव हुने जोखिम रहने घिमिरे बताउँछन् । उत्पादित फूलको बजार सुनिश्चित भए व्यवसाय थप व्यवस्थित बनाउन सहज हुने उनको भनाइ छ । स्वदेशमा फूल उत्पादन भइरहेका बेला विदेशबाट आयात हुने गरेकोप्रति भने उनी असन्तुष्ट छन् । नेपाली उत्पादनलाई प्राथमिकता दिँदा किसानले बजार पाउने र व्यवसायमा टिक्न प्रोत्साहन मिल्ने उनी बताउँछन् । ‘स्वदेशमै उत्पादन भएका फूललाई प्राथमिकता दिएर विदेशबाट फूल आयात नगर्ने हो भने किसानलाई धेरै राहत हुन्थ्यो,’ उनले भने । लामो समय परदेशमा बिताएका घिमिरे अहिले आफ्नै गाउँमा कृषि व्यवसायलाई निरन्तरता दिइरहेका छन् । उत्पादनसँगै उचित मूल्य र बजारीकरणको वातावरण बने पुष्पखेतीबाट आम्दानी तथा स्थानीय रोजगारी बढाउन सकिने उनको अनुभव छ ।