नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा प्रतिमा खड्काको उम्मेदवारी घोषणा

  • शुक्रबार​ २१ कात्िक २०८३ ११:१४ AM
सुर्खेत । दैलेख जेसीज वर्ष २०२५ की अध्यक्ष प्रतिमा खड्काले नेपाल जेसीजको वर्ष २०२७ का लागि राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन् । युवा नेतृत्व विकास, उद्यमशीलता प्रवर्द्धन तथा संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्दै उनले राष्ट्रिय उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी अघि सारेकी हुन् । तीन दशक उमेरसमेत नपुग्दै जेसीजको नेतृत्वदायी भूमिकामा स्थापित हुन सफल खड्काले स्थानीय तहमा हासिल गरेको अनुभव, उपलब्धि र संस्थागत योगदानलाई राष्ट्रिय स्तरसम्म विस्तार गर्ने लक्ष्य लिएकी छन् । शिक्षा, तालिम, सामाजिक सेवा तथा कला क्षेत्रलगायत विभिन्न क्षेत्रमा सक्रिय खड्का युवा पुस्ताको नेतृत्व विकास र क्षमता अभिवृद्धिका लागि निरन्तर क्रियाशील रहँदै आएकी छन् । युवालाई अवसर, सीप, ज्ञान र उद्यमशीलतासँग जोड्दै सक्षम तथा जिम्मेवार नेतृत्व निर्माण गर्नु उनको प्रमुख प्राथमिकता रहेको छ । उनको नेतृत्वमा दैलेख जेसीजले व्यावसायिक क्षेत्र तथा सामाजिक संस्थाबिचको सहकार्य विस्तारलाई विशेष महत्त्व दिएको थियो । संस्थामार्फत स्थानीय व्यवसायीलाई प्रोत्साहन गर्ने, नयाँ अवसर सिर्जना गर्ने तथा संस्थाको पहिचान र प्रभाव विस्तार गर्ने अभियानसमेत सञ्चालन गरिएको थियो । युवा नेतृत्वलाई केवल पद र जिम्मेवारीमा सीमित नराखी सीप, ज्ञान, उद्यमशीलता र सामाजिक उत्तरदायित्वसँग जोड्नुपर्ने मान्यता राख्ने खड्काले जेसीजलाई युवाको क्षमता विकास, अवसर सिर्जना र सकारात्मक परिवर्तनको प्रभावकारी माध्यमका रूपमा अगाडि बढाउने लक्ष्य लिएकी छन् । स्थानीय शाखामा हासिल गरेको अनुभवलाई राष्ट्रिय स्तरमा उपयोग गर्दै शाखाबिच समन्वय र सहकार्य विस्तार गर्नुका साथै संस्थागत सुदृढीकरणलाई थप प्रभावकारी बनाउने प्रतिबद्धतासहित उनी राष्ट्रिय उपाध्यक्ष पदको प्रतिस्पर्धामा उत्रिएकी हुन् । खड्काले यसअघि नेपाल सरकारको राष्ट्रिय युवा परिषद्को बोर्ड सदस्यका रूपमा समेत काम गरिसकेकी छन् । खड्काले राम्रो काम गरे बापत दैलेख जसेजी वर्ष २०२५ को अध्यक्ष रहँदा काठमाडौँ जसेजी फाउन्डेसनबाट ५० हजार राशिको यूथ डेभलपमेन्ट ग्राण्ड अवार्ड समेत प्राप्त गरेकी थिइन । नेपाल जेसीजले वर्ष २०२६ को लागि उनलाई चिल्ड्रेन एन्ड यूथ कमिसन चेयरपर्सन अर्थात् बालबालिका तथा युवा परिषद्को अध्यक्ष मनोनीत गरेको छ ।