राउटे बस्ती पुगेर महिला मन्त्री बादीले बुझिन् महिला तथा बालबालिकाको अवस्था, घुम्ती सिकाइ केन्द्रको पनि अवलोकन

  • शुक्रबार​ २१ कात्िक २०८३ ०९:४१ AM
सल्यान । राउटे समुदायको परम्परागत सीप र उत्पादनलाई उचित बजार तथा मूल्यसँग जोड्न सके उनीहरूको जीविकोपार्जन र आर्थिक अवस्थामा सुधार ल्याउन सकिने महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले बताएकी छन् । सल्यानको बनगाड कुपिण्डे नगरपालिकास्थित नाम्रा क्षेत्रमा बसोबास गर्दै आएका राउटे समुदायसँग भेटघाट तथा प्रत्यक्ष संवाद गर्दै मन्त्री बादीले उनीहरूले उत्पादन गर्ने काठका भाँडाकुँडा र महिलाले तयार गर्ने मालालगायत हस्तकलाका सामग्रीको बजारीकरणमा जोड दिएकी हुन् । भेटका क्रममा उनले राउटे समुदायका महिला तथा बालबालिकासँग संवाद गर्दै उनीहरूको जीवनशैली, दैनिक आवश्यकता, जीविकोपार्जनका चुनौती तथा शिक्षा र स्वास्थ्यको अवस्थाबारे जानकारी लिएकी थिइन् । समुदायका समस्या र आवश्यकतालाई नजिकबाट बुझ्दै उनले जीवनस्तर सुधार, संरक्षण र अवसर विस्तारका विषयमा चासो व्यक्त गरिन् । संवादका क्रममा राउटे समुदायका सदस्यले आफ्नै हातले निर्माण गरेका काठका तीन वटा परम्परागत भाँडा मन्त्री बादीलाई मायाको चिनो स्वरूप प्रदान गरेका थिए । समुदायको मौलिक सीप, कला र परम्पराको प्रतिनिधित्व गर्ने ती सामग्री ग्रहण गर्दै उनले परम्परागत सीपको संरक्षण र प्रवर्द्धनसँगै तिनलाई आयआर्जनको माध्यम बनाउनुपर्ने बताइन् । राउटे समुदायले उत्पादन गर्दै आएका काठका भाँडाकुँडा तथा महिलाले तयार गर्ने माला र अन्य हस्तकलाका सामग्रीको बजार प्रवर्द्धन तथा बजारीकरण गर्न सके समुदायको आर्थिक अवस्था सुधारमा सहयोग पुग्ने उनको भनाइ थियो । परम्परागत सीप र उत्पादनलाई उचित बजार तथा मूल्यसँग जोड्न आवश्यक रहेको उनले उल्लेख गरिन् । मन्त्री बादीले राउटे बालबालिकाको शिक्षालाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनीहरूको सिकाइलाई निरन्तरता दिन आवश्यक वातावरण र सहयोगको व्यवस्था गर्नुपर्ने बताइन् । समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानको सम्मान गर्दै बालबालिकालाई शिक्षा, स्वास्थ्य तथा संरक्षणको पहुँचमा ल्याउनुपर्ने उनको धारणा थियो । यसै क्रममा मन्त्री बादीले सामाजिक सेवा केन्द्र (सोसेक) नेपालद्वारा राउटे बालबालिकाका लागि सञ्चालित घुम्ती सिकाइ केन्द्रको अवलोकनसमेत गरिन् । उनले केन्द्रमा भइरहेको शिक्षण प्रक्रिया, बालबालिकाको सिकाइ अवस्था तथा शैक्षिक गतिविधिबारे जानकारी लिएकी थिइन् । राउटे समुदायसँगको प्रत्यक्ष भेटघाटले विशेष गरी महिला तथा बालबालिकाका सवाल, परम्परागत सीपको संरक्षण, शिक्षा, स्वास्थ्य र जीविकोपार्जनका अवसर विस्तारका विषयलाई नजिकबाट बुझ्ने अवसर प्रदान गरेको छ । समुदायको मौलिक पहिचान र संस्कृतिको संरक्षण गर्दै महिला तथा बालबालिकाको अधिकार सुनिश्चितता, आधारभूत सेवामा पहुँच र सम्मानजनक जीवनयापनका अवसर विस्तार गर्नु राज्यको महत्त्वपूर्ण दायित्व हो ।