बैतडी। सुर्नया गाउँपालिका–८ कठमडाकी धाना साउदले ७३ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छन् । नागरिकता नहुँदा उनी सामाजिक सुरक्षा भत्ताबाट समेत वञ्चित थिइन् । बैतडीकी प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बिहीबार घरपायक पर्ने ढोल्यामोडमा पुगेर नागरिकता प्रदान गरेपछि साउद खुसी भएकी छन् । ‘आफूलाई नागरिकता बनाउनुपर्छ भन्ने थाहा थिएन । अरू कसैले बनाउनुपर्छ पनि भनेनन् । सामाजिक सुरक्षा भत्ताबाट समेत वञ्चित हुनुपरेको थियो,’ उनले भनिन्, ‘अहिले बल्ल नागरिकता बनेको छ । अब त सामाजिक सुरक्षा भत्ता पाइने भयो ।’ जिल्ला प्रशासन कार्यालयले ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रमअन्तर्गत अपाङ्गता भएका तथा अशक्त नागरिकलाई घरमै वा घरपायक स्थानमा पुगेर नागरिकता प्रदान गर्दै आएको छ । कार्यक्रम सञ्चालन भएको दुई महिनामा ११ जनाले नागरिकता पाएको कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार बिहीबार साउदसहित पाँच जनालाई घरपायक स्थानमा नागरिकता प्रदान गरिएको हो । सिगास गाउँपालिका–२ की ‘क’ वर्गको अपाङ्गता भएकी १६ वर्षीया मनिषाकुमारी धामी, सोही वडाका १९ वर्षीय मुकुन्दसिंह धामी र ‘ख’ वर्गको अपाङ्गता भएका १६ वर्षीय वसन्त नेपालीलाई वडा कार्यालयमा नागरिकता प्रदान गरिएको छ । त्यस्तै, सिगास गाउँपालिका–१ का ‘क’ वर्गको अपाङ्गता भएका १६ वर्षीय रन्जित भुललाई पनि घरपायक स्थानमा नागरिकता प्रदान गरिएको हो । छोरा मुकुन्दको नागरिकता वडा कार्यालयमै बनेपछि सदरमुकाम जानुपर्ने बाध्यता हटेको उनका बुबा अमरसिंह धामीले बताए । ‘शारीरिक अशक्त छोरा बोकेर नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय पुर्याउन सक्ने अवस्था थिएन,’ उनले भने, ‘वडा कार्यालयमै नागरिकता बनेपछि खुसी लागेको छ ।’ सिगास गाउँपालिका–२ का वडासचिव प्रताप बोहराले खर्च र शारीरिक अवस्थाका कारण प्रशासन कार्यालयसम्म पुग्न नसक्ने नागरिकलाई वडामै सेवा उपलब्ध हुँदा सहज भएको बताए । वडा कार्यालयको सिफारिसपछि प्रमुख जिल्ला अधिकारीसहितको टोलीले त्यहाँका तीन जनालाई नागरिकता प्रदान गरेको उनले जानकारी दिए । प्रशासनले जिल्लाभर नागरिकताबाट वञ्चित अशक्त व्यक्तिको विवरण सङ्कलन गरिरहेको छ । ‘नागरिकताबाट वञ्चित त्यस्ता नागरिकलाई सकेसम्म उनीहरूकै घरमा अथवा वडा कार्यालयमा नागरिकता प्रदान गर्ने हिसाबले काम भइरहेको छ,’ अर्यालले भनिन् ।