काठमाडौँ । तिहारमा देउसी-भैलो खेल्ने नाममा जबरजस्ती दक्षिणा माग्ने, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने तथा पटाका र आतिसबाजी प्रयोग गर्न नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले देउसी-भैलो कार्यक्रमलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन विभिन्न निर्देशन जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले बिहीबार साँझ जारी गरेको अत्यन्त जरुरी सूचनामा देउसी–भैलोका नाममा सर्वसाधारण, व्यवसायी, घरधनी तथा यात्रुलाई जबरजस्ती रकम माग्ने, दबाब दिने, धम्क्याउने वा अभद्र व्यवहार गर्न निषेध गरिएको छ । प्रशासनले देउसी-भैलो कार्यक्रममा सहभागी हुने व्यक्तिले मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्ने तथा सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्याउने गतिविधि नगर्न पनि सचेत गराएको छ । त्यस्तै, ध्वनि प्रदूषण हुने गरी अत्यधिक ठुलो आवाजमा माइक, लाउडस्पिकर, बाजा तथा अन्य ध्वनि उपकरण प्रयोग गर्न नपाइने सूचनामा उल्लेख छ। अस्पताल, स्वास्थ्य संस्था, विद्यालय, वृद्धाश्रमलगायत संवेदनशील क्षेत्रमा विशेष सावधानी अपनाउन र सर्वसाधारणलाई अनावश्यक बाधा नपुग्ने गरी कार्यक्रम सञ्चालन गर्न प्रशासनले आग्रह गरेको छ । कुनै घर, निजी आवास, कार्यालय, व्यापारिक प्रतिष्ठान वा अन्य स्थानमा देउसी–भैलो खेल्न जाँदा घरधनी, सञ्चालक वा सम्बन्धित जिम्मेवार व्यक्तिको पूर्वस्वीकृति लिनुपर्नेछ। अनुमति नदिएको स्थानमा जबरजस्ती देउसी-भैलो खेल्ने वा चन्दा तथा दक्षिणा माग्ने कार्य नगर्न पनि निर्देशन दिइएको छ । प्रशासनले पटाका, आतिसबाजी, भुइँचम्पा, रकेट तथा अन्य विस्फोटक पदार्थको प्रयोग, ओसारपसार, बिक्री वितरण र भण्डारण नगर्न पनि भनेको छ। यस्ता पदार्थले आगलागी तथा चोटपटकको जोखिम निम्त्याउन सक्ने भएकाले तिनको प्रयोग नगर्न आग्रह गरिएको हो । देउसी–भैलो खेल्ने क्रममा सडक, चोक, गल्ली, फुटपाथ तथा सार्वजनिक स्थानमा सवारी आवागमन र पैदल यात्रीलाई अवरोध पुग्ने गरी कार्यक्रम सञ्चालन गर्न पनि रोक लगाइएको छ । बालबालिकालाई देउसी-भैलोमा सहभागी गराउँदा अभिभावक वा जिम्मेवार व्यक्तिको निगरानीमा राख्नुपर्ने र उनीहरूलाई असुरक्षित स्थानमा लैजाने वा जोखिमपूर्ण गतिविधिमा संलग्न गराउन नहुने सूचनामा उल्लेख छ । त्यसै गरी, सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्याउने, फोहोर मैला गर्ने, सार्वजनिक स्थानमा अव्यवस्थित रूपमा भेला हुने तथा अन्य व्यक्तिको अधिकार र स्वतन्त्रतामा असर पर्ने गतिविधि नगर्न प्रशासनले सचेत गराएको छ । नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावको संरक्षण गर्दै शान्ति सुरक्षा, सार्वजनिक सुव्यवस्था तथा नागरिकको सहज आवागमन सुनिश्चित गर्ने उद्देश्यले काठमाडौँ जिल्लाभित्रका सबैलाई यी निर्देशन पालना गर्न प्रशासनले अनुरोध गरेको छ ।