एमाले ‘संकल्प यात्रा’ टोली आज पुष्पलालको जन्मथलो रामेछाप पुग्दै

रामेछाप - प्रमुख प्रतिपक्षी नेकपा एमालेले गत मंसिर १४ गतेबाट सुरु गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’ आज रामेछाप आइपुग्दै छ ।

झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्गको यात्रा आज नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मथलो रामेछाप आइपुग्ने भएको हो । पुष्पलालको जन्म रामेछापको भँगेरीमा भएको हो । पुष्पलाल र सहिद गङ्गालाल दाजुभाइ हुन् । एमालेको अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको अभियान मंसिर १४ गते पुष्पलाल लोकमार्गको अन्तिम बिन्दु बैतडीको झुलाघाटस्थित महाकाली नदी किनारबाट सुरु भएको थियो । संकल्प यात्राको टोली आइतबार काभ्रेको धुलिखेल आइपुगेको छ ।

आज बिहान धुलिखेलबाट सुरु हुने यात्रा सिन्धुपाल्चोक, दोलखा हुँदै साँझ रामेछापको सदरमुकाम मन्थली आइपुग्ने छ । सोमबार दिउँसो दोलखाको चरिकोटमा सभा राखिएको छ । सो सभा सकेर अध्यक्ष ओली लगायतको अभियानको टोली मन्थली आउने एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार सोमबार साँझ मन्थलीको तीनलाल पार्कमा सन्देश सभा राखिएको छ । विभिन्न सांस्कृतिक कार्यक्रमसहित साँझ सभा हुने छ भने मंगलबार बिहान अन्तरक्रिया कार्यक्रम राखिएको छ । मन्थलीको अन्तरक्रिया सकेर मंगलबार बिहान टोली सिन्धुलीको खुर्कोट हुँदै घुर्मी प्रस्थान गर्ने छ । मंगलबार घुर्मीमा सभा राखिएको छ ।