हिजोको शेयर बजारको उछाल टिकेन : नेप्से १५.४० अंकले गिरावट !

 काठमाडौँ - आईतबार सकारात्मक सर्किट लागेको नेप्से परिसूचक सोमबार घटेको छ । मौद्रिक नीतिको समीक्षा पछिको पहिलो कारोबारको दिन आइतबार १११ अंकभन्दा बढी अंकले बढेको नेप्से सोमबार १५.४० अंक घटेर १९४८.५७ बिन्दुमा झरेको छ ।

सेन्सेटिभ इण्डेक्स ४.३३ अंकले घटेको छ भने लोट इण्डेक्स १.०९ अंक र सेन्सेटिभ लोट इण्डेक्स १.५२ अंकले घटेर कारोबार बन्द भएको छ । सोमबार कारोबारमा आएका ३०३ कम्पनीको १ करोड ४६ लाख ९८ हजार कित्ता शेयर ४ अर्ब ८४ करोड २७ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आईतबारको तुलनामा सोमबार कारोबार रकम भने उल्लेख्य बढेको छ । आईतबार ४८ करोड २४ लाख ८२ हजार २३९ रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये सोमबार ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । जसमा म्युचुअल फण्ड उपससमूहको परिसूचक २.१६ प्रतिशत बढेको छ भने निर्जिवन बीमा उपसमूहको परिसूचक १.३७ प्रतिशत बढेको छ । तर यता विकास बैंक उपसमूहको परिसूचक २.०९ प्रतिशत घटेको छ ।