संरक्षणविहीन ४८ बालबालिकाको आश्रय स्थल पुगिन् मन्त्री बादी, व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता

  • बिहीबार २० कात्िक २०८३ ०९:०४ AM
सल्यान । बाबुआमा दुवै नभएका तथा बाबु वा आमामध्ये एक जना जीवित भए पनि रेखदेख र संरक्षण नपाएका १३ वर्षमुनिका ४८ बालबालिका सल्यानको एक छात्रावासमा आश्रित छन् । उनीहरूको संरक्षण, शिक्षा र पालनपोषणका लागि सञ्चालित छात्रावासको अवस्था बुझ्न महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्री सिता बादी पुगेकी छन् । सल्यान जिल्लाको अनुगमनका क्रममा मन्त्री बादीले शारदा नगरपालिका-५, तल्लीमाकैस्थित श्री जनकल्याण आधारभूत विद्यालयमा सञ्चालित बाल संरक्षण छात्रावासको स्थलगत अवलोकन गरेकी हुन् । संरक्षणविहीन तथा अति विपन्न परिवारका बालबालिकालाई आवासीय सुविधासहित संरक्षण प्रदान गर्ने उद्देश्यले सञ्चालित छात्रावासमा जिल्लाका १० वटै स्थानीय तहका बालबालिका अध्ययनरत छन् । छात्रावासमा आश्रित ४८ जना बालबालिका १३ वर्षमुनिका रहेको बताइएको छ । छात्रावासको व्यवस्थापन पनि फरक प्रकृतिको छ । त्यहाँ अध्यापन गराउने शिक्षकका छोराछोरीसमेत सोही विद्यालयमा अध्ययन गर्छन्। शिक्षक पनि विद्यार्थीसँगै छात्रावासका कोठामा बस्ने व्यवस्था मिलाइएको छ । यसले बालबालिकाको रेखदेख र हेरचाहमा सहजता प्रदान गरेको छ । हाल छात्रावासलाई शारदा नगरपालिकाले मात्रै सहयोग गर्दै आएको छ । तर, यहाँ सल्यान जिल्लाका १० वटै स्थानीय तहका बालबालिका आश्रित रहेकाले छात्रावासको व्यवस्थापन र सञ्चालनमा सबै पालिकाको सहयोग आवश्यक देखिएको छ । अवलोकनका क्रममा मन्त्री बादीले छात्रावासमा आश्रित बालबालिकाको अवस्था, आवासीय सुविधा, खानपान, शिक्षा, स्वास्थ्य तथा उनीहरूका आवश्यकताबारे जानकारी लिएकी थिइन् । उनले बालबालिकाको संरक्षण, शिक्षा र समग्र विकास गर्नु राज्यको महत्त्वपूर्ण दायित्व भएको उल्लेख गर्दै छात्रावासलाई आवश्यक सहयोग तथा व्यवस्थापनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् । साथै, स्थानीय प्रशासन तथा सरोकारवाला निकायसँग समन्वय गरी छात्रावासका आवश्यकता सम्बोधन गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशनसमेत दिइन् । अवलोकनका क्रममा सल्यानका प्रमुख जिल्ला अधिकारी वन्दना केसी लगायत सम्बन्धित अधिकारीको उपस्थिति थियो ।