गाजा युद्धमा यूएनआरडब्लूएका १०० भन्दा बढी कर्मचारीको मृत्यु

काठमाण्डौँ - प्यालेस्टिनी शरणार्थीलाई सहयोग गर्ने संयुक्त राष्ट्रसङ्घीय निकाय यूएनआरडब्लूएका प्रमुखले गाजामा जारी युद्धमा आफ्ना १०० भन्दा बढी कर्मचारीको मृत्यु भएको शुक्रबार बताएका छन् ।

“यूएनआरडब्लूएका अभिभावक, शिक्षक, नर्स, चिकित्सक, सहयोगी कर्मचारी गरी १०० भन्दा बढी सहकर्मी एक महिनामा मारिएको पुष्टि भएको छ,” यूएनआरडब्लूएका प्रमुख फिलिप लाजारिनीले ट्विटरमा लेखेका छन् ।

“यूएनआरडब्ल्यूए शोकमा छ । प्यालेस्टिनीहरूले शोक मनाइरहेका छन्, इजरायलीहरू शोक मनाइरहेका छन् । यस त्रासदीको अन्त्यका लागि अब मानवीय युद्धविरामको खाँचो छ,” उनले लेखेका छन् । गत अक्टोबर ७ मा इजरायल र हमासबीच भएको युद्धपछि आफ्ना १०१ जना कर्मचारीको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय निकायले एक भिडियो सन्देशमार्फत जनाएको छ ।