सुर्खेत । जिल्ला कारागार कार्यालय डोल्पाबाट सुरुङ खनेर फरार भएका कैदीमध्ये थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरू त्रिपुरासुन्दरी नगरपालिका ४ रङ गाउँस्थित एक स्थानीयको घरमा लुकिरहेको अवस्थामा फेला परेका हुन् । कार्तिक १४ गते बिहान ६ बजे कारागारबाट सुरुङ खनेर फरार भएका कैदीहरूको खोजी गर्ने क्रममा एक स्थानीयको घरमा लुकिछिपी बसेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका(७ का २९ वर्षीय कालीप्रसाद रोकाय र जाजरकोटको नलगाड नगरपालिका ९ का १९ वर्षीय कैलाश भन्ने कपिल परियार छन् । रोकाय जबरजस्ती करणीसम्बन्धी कसुरमा ८ वर्ष कैद सजाय तोकिएका कैदी हुन् भने परियार नकबजनी चोरीसम्बन्धी कसुरमा ३ वर्ष कैद सजाय पाएका व्यक्ति हुन् । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका ५ का २८ वर्षीय रेशम राना यसभन्दा अघि प्रहरीले पक्राउ गरिसकेको छ । कारागारबाट फरार भएका आठ जनामध्ये चार जना पक्राउ परिसकेको र बाँकी चार जनाको खोजी कार्य जारी रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता सन्तोष सिंह राठोरले बताए ।