स्टन्डबाजी छाडेर जनताको समस्या समाधान गर्न सरकारलाई ओलीको सुझाव

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको समस्या समाधान गरेर सुशासनको बाटोतर्फ लाग्ने काम गर्न सरकारलाई सुझाव दिएका छन् ।

सोमबार ललितपुरमा तेजाव आक्रमण विरुद्धको जागरण दिवसमा अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रममा ओलीले अहिले सरकारले स्टन्डबाजीमात्रै गरेको भन्दै स्टन्डबाजी छाडेर जनताको समस्या समाधान गरेर सुशासनको बाटोतर्फ लाग्ने काम गर्न सरकारलाई सुझाव दिएका हुन् ।

ओलीले सरकार नै तस्करीमा संलग्न भइ कमिसनखोरीमा डुबे जनताको समस्या नदेख्ने जिकिर गरे । उनले पहिले नै नाम लिएर आक्रमण गर्छु भन्दै हिड्दा पनि सरकारले कुनै चासो नलिदा कांग्रेस नेतामाथि खुकुरी प्रहार भएको बताए । उनले समाजमा हिंसा त्रास फैलाउन कुरामा सहयोगी नभएकै कारण ताप्लेजुङमा प्रहरी अधिकृतलाई हत्या गर्ने धम्की दिनु आंतककारी क्रियाकलाप भएको बताए । ओलीले तेजाव आक्रमणको कानून लागू गर्न नदिने प्रयास गरेपनि आफ्नो नेतृत्वको सरकारले यसविरुद्ध कडा कानून बनाएको दावी गरे । उनले तेजाव आक्रमणविरुद्धको कानूनलाई कडा रुपमा कार्यान्वयन नगरेसम्म यस्ता घटनामा कमि आउन नसक्ने जिकिर गरे ।