नेकपा एस कुनै पार्टीमा गएर विलय हुँदैन, बरु पुरानो नेकपा ब्युँताउछः माधव नेपाल

भक्तपुर- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी अर्को कुनै पार्टीमा गएर विलय नहुने बताएका छन्। भक्तपुरमा एकीकृत समाजवादीको प्रथम जिल्ला अधिवेशनमा बोल्दै उनले एकीकृत समाजवादी अर्को पार्टीमा विलय हुन्छ भन्ने भ्रममा नपर्न आग्रह  गरे।

अध्यक्ष नेपालले भने, “कसै–कसैलाई लागेको छ, हाम्रो पार्टी अरु कुनै पार्टीमा गएर विलय हुनेछ, एमालेमा त आफैँ रुवाबासी चलिरहेको छ । तर हामी कतै विलय हुँदैनौँ, बरु हामी पुरानो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन तयार छौँ ।”

उनले कम्युनिष्ट सबै मिलेर अघि बढ्नुपर्ने आवश्यकता आएको चर्चा गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली तयार भए नेकपा ब्युँताउन आफू तयार रहेको बताए । एमालेका अध्यक्ष ओलीले आफू अध्यक्ष पदबाट हट्नुपर्ला भनेर ७० वर्षको उमेरहद हटाएको बताउँदै अध्यक्ष नेपालले आफू सल्लाहकारमा बसेर युवालाई जिम्मेवारी नदिए एमाले पनि सकिने बताए ।