'नेपाल कृषिप्रधान देश हो तर हालसम्म कृषि ऐन छैन' : कृषिमन्त्री भुसाल

काठमाडौँ - कृषि तथा पशुपंक्षी विकासमन्त्री डा। वेदुराम भुसालले नेपालमा हालसम्म कृषि ऐन नै नरहेको बताएका छन् । सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले नेपाल कृषिप्रधान देश हो भन्ने गरेपनि हालसम्म कृषि ऐन नै नहुनु दुःखद् भएको बताए । उनले अहिले मन्त्रालयले कृषि ऐन बनाउनका लागि मस्यौदा तयार पारिरहेको उल्लेख गरे । उनले कृषि ऐन बनाउन सकेमात्रै पनि कृषि उपज कतिपय समस्या समाधान हुने विश्वास व्यक्त गरे । 

मन्त्री भुसालले आधुनिक समयमा पाखुराको बलमा खाद्यान्न उत्पानमा वृद्धि गर्छु भन्नु गलत भएको बताए । उनले जतिसक्दो धेरै यन्त्रीकरणमा गएर कृषि उत्पादन वृद्धि गर्न सकिने उल्लेख गरे । उनले पछिल्लो समय जनशक्तिको अभाव देखिएको बताए । उनले जनशक्तिको अभावका कारण अहिले आधा भन्दा बढी खेतीयोग्य जमिन बाँझो रहेको बताए । उनले तराईका ५० प्रतिशत भन्दा बढी खेतीयोग्य जमिन सिंचाईको सुविधा नहुँदा बाँझो रहेको बताए ।