रुकुमपूर्वमा गोरेटो बाटो खन्न गएका ६ जना आगलागीमा परेर घाइते  

काठमाडौँ । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा आगलागीमा परी ६ जना घाइते भएका छन् । रन्मा गाउँदेखि पारीको चत्रा भीरमा गोरेटो बाटो खन्ने क्रममा भीरबाट खसेका ढुङ्गा एकापसमा ठोक्किँदा आगलागी भएको हो ।

आगलागीमा परेर गोरेटो बाटो खनिरहेका ६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

घाइते हुनेहरुमा दाँत बुढामगर, उज्ज्वल बुढामगर, थपनबहादुर बुढामगर, सम्झी बुढामगर, गोरा बुढामगर र पुत्र बुढामगर रहेका छन् ।

घाइते सबै जनालाई उद्धार गरी बुधबार रन्मा गाउँमा ल्याइपुर्‍याइएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए । उनीहरूलाई बिहीबार हेलिकप्टरमार्फत उपचारका लागि अन्यत्र लगिने उनले बताए ।