काठमाडौँ । नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) बाट विभाजित भएर गठन भएको उमा भुजेल ‘शिलु’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित भएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, सामाजिक न्याय तथा आर्थिक-सामाजिक रूपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य प्राप्त गर्न बृहत् कम्युनिस्ट आन्दोलनको एकीकरण आजको वस्तुगत आवश्यकता भएको निष्कर्षसहित उक्त पार्टी १० बुँदे सहमतिसहित नेकपामा समाहित भएको हो । दुई पार्टीबिच भएको सहमतिअनुसार पार्टीको मार्ग निर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद रहनेछ भने नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुने उल्लेख छ । त्यस्तै, पार्टीको तत्कालीन कार्यनीति सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र रूपान्तरण गर्दै समाजवादको आधार तयार गर्ने रहनेछ । सहमति पत्रमा आन्दोलन मूलतः शान्तिपूर्ण हुने उल्लेख गर्दै समय र परिस्थितिअनुसार आन्दोलनका सबै रूप प्रयोग गर्न सकिने जनाइएको छ । सडक, संसद् र सरकारलगायत सबै मोर्चालाई आन्दोलनको मोर्चाका रूपमा लिइने सहमति भएको छ । दुई पार्टीबिचको सहमतिअनुसार आगामी स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि पार्टीको एकता राष्ट्रिय महाधिवेशन आयोजना गरिनेछ । केन्द्रीय समिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय सचिवालय, केन्द्रीय कार्य संयोजन समिति तथा अन्य केन्द्रीय निकायमा सहमतिका आधारमा सङ्गठनात्मक समायोजन गरिनेछ । त्यसै गरी, सबै तहका पार्टी समिति तथा जनसङ्गठनमा समेत सहमतिका आधारमा समायोजन गर्ने र उक्त काम यही मङ्सिर मसान्तभित्र सम्पन्न गर्ने सहमति भएको छ । पार्टी समितिको सञ्चालन पार्टी सञ्चालनसम्बन्धी विधि, पद्धति तथा जनवादी केन्द्रीयताको सिद्धान्तअनुसार गरिने सहमति पत्रमा उल्लेख छ । एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी र चुनाव चिह्न पाँच कुने तारा नै कायम रहने सहमति भएको छ । त्यस्तै, सिद्धान्त र विचारलगायत एक आपसमा रहन सक्ने मतभेद तथा विगतको समीक्षासहित निरन्तर छलफल गर्दै जाने र त्यस्ता विषयमा एकता राष्ट्रिय महाधिवेशनबाट निष्कर्षमा पुग्ने सहमति भएको छ । सहमति पत्रमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव उमा भुजेलले हस्ताक्षर गरेका छन् । भुजेल विप्लव नेतृत्वको नेकपा (माओवादी)को सात सदस्यीय सचिवालय टिमकी सदस्य थिइन् भने उनी १० वर्षे जनयुद्धकी गोर्खा जेल ब्रेकरका रूपमा चर्चित छन् । उनी पहिलो संविधान सभा सदस्य पनि हुन् ।