हरेक चाडपर्वले बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गरेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ प्रधनमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इद (इद–उल–फित्र) पर्वले नेपालीबीच आपसी एकता, सहिष्णुता र सद्भाव कायम गरी न्यायपूर्ण तथा समृद्ध समाज निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।

आज बिहीबार शुभकामना सन्देश जारी गरी उनले आपसी सद्भावको चाडको रूपमा मनाइने इदले नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न प्रेरणा मिल्ने विश्वास लिएका छन्।

‘हरेक चाडपर्वको आफ्नो ऐतिहासिक र विशिष्ट महत्व हुने गर्दछ’, प्रधानमन्त्री दाहालको शुभकामना सन्देशमा भनिएको छ, ‘मानव जातिले जीवन वृत्तिका क्रममा प्राप्त गरेका अनुभव, शिक्षा र ज्ञानको समुच्चय प्रक्रियाबाट नै चाडपर्व विकसित र स्थापित हुँदै आएका छन्।’