तीनै तहको सरकारलाई बलियो बनाउनुपर्छ : मन्त्री शर्मा

दमौली - सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले तीनै तहको सरकारलाई बलियो बनाउनुपर्ने बताएकी छन् ।

तनहुँको आँबुखैरेनी गाउँपालिकाको सातौँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले बलिदान र सङ्घर्षबाट प्राप्त भएको उपलब्धिविरुद्ध षड्यन्त्र हुन थालेकाले त्यस्ता षड्यन्त्रलाई असफल बनाइने उल्लेख गरे ।

मन्त्री शर्माले तीनै तहको सरकारबीच समन्वय र सहकार्य हुँदा नै देश विकास सम्भव रहेको बताइन् । संविधानले तीन तहको सरकारको परिकल्पना गरेको उल्लेख गर्दै उनले संविधानले नै तीनै तहका सरकारको अधिकारलाई व्यवस्थित गरेको बताइन् । उनले भनिन्, “स्थानीय तह जनताको नजिकको सरकार हो । जनताको सुखदुःखको साथी हो ।”