काठमाडौँ। आमाबुबाबीचको झैझगडाबाट उनी दिक्क थिइन् । परिवारमा माया र ममताको अभाव महसुस गरेकी उनी साथी खोज्न थालिन् । फेसबुकबाट चिनजान भएको साथीले आफूलाई भारतसम्म पुर्याउला भन्ने उनले कल्पना गरेकी थिइनन् । भारतको बिहारस्थित एउटा कोठामा बन्दी बनाइएकी ती बालिकालाई ‘साथसाथ’ संस्थाले उद्धार गरी नेपाल ल्याएको थियो । ‘मैलेजस्तै मायाको प्रलोभनमा परी घर छोडेर कुनै बालबालिका कतै जान नपरोस्,’ उनी भन्छिन् । यस्तो अवस्था आउन नदिन अभिभावक जिम्मेवार र सचेत हुनुपर्ने उनको भनाइ छ । उनको उद्धारमा खटिएकी अधिवक्ता रसना ढकाल परिवारको माया र हेरचाहको अभावले बालबालिकालाई बेचबिखनको जोखिममा पार्ने बताउँछिन् । विशेषगरी बालिकामाथि हुने यौन शोषण र बेचबिखनको अवस्था चिन्ताजनक रहेको उनको भनाइ छ । ‘साथसाथ’ संस्थाले यस वर्ष दुई बालबालिकालाई बेचबिखन हुनबाट जोगाएर परिवारसँग पुनर्मिलन गराएको जनाएको छ । संस्थाकी अध्यक्ष सुचिता शाहका अनुसार साथीको सङ्गतमा कञ्चनपुर हुँदै भारततर्फ जाँदै गरेकी अर्की बालिकालाई पनि बीचैमा उद्धार गरिएको थियो । घर छोड्नुको कारण बुझ्दा बालबालिकाले परिवारमा आमाबुबाको माया, हेरचाह र स्नेह नपाएको गुनासो गर्ने गरेको शाह बताउँछिन् । उनका अनुसार नेपालमा पाँच हजारभन्दा बढी बालबालिका सडकमा बसोबास गर्ने र जीविकोपार्जनका लागि काम गर्ने अवस्थामा छन् । ‘सडकका बालबालिका बेचबिखनको उच्च जोखिममा पर्छन्,’ शाहले भनिन्, ‘उनीहरू प्रायः बालश्रमका सबैभन्दा निकृष्ट स्वरूप तथा विभिन्न प्रकारका शोषणको सिकार हुने गरेका छन् ।’ पछिल्लो समय अभिभावकले बालबालिकालाई पर्याप्त समय दिन नसक्नु र डिजिटल माध्यमबाट प्रलोभनमा पर्नुले घर छोड्ने बालबालिकाको सङ्ख्या बढ्न थालेको उनको भनाइ छ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको तथ्याङ्कअनुसार हराएका पाँच हजार ६९ बालबालिकाको खोजतलास गरिएकामा चार हजार ४५६ जनालाई फेला पारी परिवारसँग पुनर्मिलन गराइएको छ । खोजतलास गरिएकामा एक हजार ३५३ बालक र तीन हजार ७१६ बालिका थिए । फेला पर्नेमा एक हजार २१० बालक र तीन हजार २४६ बालिका छन् । बेवारिसे अवस्थामा फेला परेका १८४ बालबालिकामध्ये १०५ बालक र ७९ बालिका थिए । उनीहरूमध्ये १०७ जनाको परिवार पहिचान गरी पुनर्मिलन गराइएको छ । परिवार पहिचान हुन नसकेका ७७ जनालाई बालगृहमा अस्थायी संरक्षण तथा व्यवस्थापन गरिएको छ । त्यस्तै, ८७ बालक र २८ बालिकासहित ११५ सडक बालबालिकाको उद्धार गरिएको छ । उनीहरूमध्ये ३१ जनालाई परिवारसँग पुनर्मिलन गराइएको र ८४ जनालाई अस्थायी संरक्षण सेवा प्रदान गरिएको छ । हिंसा तथा जोखिममा परेका २०३ बालक र ३२५ बालिकासहित ५२८ बालबालिकाको तत्काल उद्धार तथा पुनःस्थापना गरिएको छ । बाल हेल्पलाइनमार्फत पाँच हजार ८८० बालबालिकालाई जोखिम तथा हिंसासम्बन्धी मनोविमर्श, कानुनी परामर्श र आवश्यक अन्य सहयोग उपलब्ध गराइएको छ । मन्त्रालयको विवरणमा १० संस्थालाई बालगृह सञ्चालन अनुमति दिइएको र २६ बालगृहको अनुमति नवीकरण गरिएको पनि उल्लेख छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयको वर्ष २०८२ को तथ्याङ्कअनुसार मानव बेचबिखन तथा ओसारपसारबाट ११ बालक र ९४ बालिकासहित १०५ बालबालिकाको उद्धार गरिएको छ । लागूऔषध प्रयोग तथा ओसारपसारसँग सम्बन्धित पीडित, उद्धार र नियन्त्रणको विवरणमा ३१ बालबालिका उल्लेख छन् ।