दलित समुदायबाट आईजी दौडसम्म पुगेका डम्बर विक एआईजीबाटै लिँदैछन् अवकाश

  • मङगलबार १८ कात्िक २०८३ ११:३५ AM
काठमाडौँ। नेपाल प्रहरीका महानिरीक्षक (आईजी)दानबहादुर कार्कीलाई पदमुक्त गर्ने विषयलाई लिएर विवाद भइरहेका बेला प्रहरीकै अतिरिक्त महानिरीक्षक (एआईजी) डम्बरबहादुर विकको संघर्ष र योगदानले यतिबेला सामाजिक सञ्जाल रंगिएका छन्।  एआईजी विकले विकास थपलियासँगको पोडकास्टमा गरेका संवादलाई लिएर विकको संघर्ष र योगदानबारे देश विदेशमा रहेका नेपाली समुदायमाझ चर्चा भएको हो।  कतिपयले कार्कीलाई हटाएपछि सरकारले विकलाई नेपाल प्रहरीको आईजी बनाउनु उपयुक्त हुने धारणा समेत राखेका छन्। त्यसो त विक दलित समुदायबाट नेपाल प्रहरीको कमाण्डर आईजी बन्ने दौडसम्म पुग्ने पहिलो व्यक्ति हुन्।  उनीभन्दा पहिले प्रहरीमा यो तहसम्म कोही पनि पुगेको थिएन। जात व्यवस्थामा आधारित विभेदकारी सामाजिक संरचनाका कारण सरकारी सेवामा दलित समुदायको उपस्थित कमजोर छ। राज्यले नै दलित समुदायका युवालाई प्रहरीको उच्च पदमा भर्ना नलिने, बढुवा र कार्यसम्पादन मूल्यांकनमा समेत अन्याय गर्ने गरेको आरोप लाग्ने गरेको छ।  यस्तो असहजताका बीच दलित समुदायबाट विभेद खेप्दै प्रहरी सेवामा आएका विक आईजी बन्ने दौडसम्म पुगेका थिए। विकलाई प्रहरी प्रमुख बनाउँदा नेपाल प्रहरीको इतिहासमा नयाँ रेकर्ड मात्रै बन्ने थिएन, सयौँवर्षसम्म उत्पीडनमा पारिएको दलित समुदायका लागि समेत न्यायको अनुभूति हुन्थ्यो। तर सरकारले त्यस्तो न्यायिक पहलमा चासो देखाएन।  अन्तत: पहिलो पटक प्रहरीको एआईजीसम्म पुगेका विक अब अवकाशमा जाने भएका छन्।  विकसहित पाँच एआईजीले लिँदैछन् अवकाश २०५३ पुस ५ गते भर्ना भएको टोलीका प्रहरी अधिकारीहरू ३० वर्षे सेवा अवधिका कारण आगामी पुस ५ गतेबाट अनिवार्य अवकाशमा जान लागेका हुन्।  यसपटक अवकाश हुने एआईजीहरूमा सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक छन्। शाह प्रदेश समन्वय विभागमा कार्यरत छन्। उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख राठौर र सीआईबी प्रमुख चतुरवेदी पनि अवकाश हुने भएका छन्।  कार्यविभागका प्रमुख हिमालयकुमार श्रेष्ठ र प्रशासन विभाग प्रमुख डम्बरबहादुर विक पनि अवकाशको मुखमा छन्। नेपाल प्रहरीमा प्राविधिक १ बाहेक ८ एआईजीको दरबन्दी छ। तीमध्ये पुस ५ गतेबाट ३ जना मात्रै रहनेछन्। उनीहरूसँगै तीन डीआईजी पनि अवकाश हुने भएका छन्। सोही ब्याचमा भर्ना भएका ओम राना, दिलिपनाथ देउवा र सुरेन्द्र गुरुङ पनि अवकाश हुने भएका हुन्।