काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यसहित छ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आचार्यले नौ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आयोगको आरोप छ । आयोगले आचार्य जिल्ला विकास समितिको कार्यालय खोटाङअन्तर्गत गाविस सचिवमा नियुक्त भएको २०५४ माघ २ गतेदेखि सार्वजनिक पदमा बहाल रहेको २०८० मङ्सिर २१ गतेसम्मको आयव्यय अनुसन्धान गरेको थियो । उक्त अवधिमा आचार्य र उनको एकाघरको परिवार तथा सगोलमा रहेका व्यक्तिको वैध आय छ करोड २५ लाख ६३ हजार ३४५ रुपैयाँ देखिएको आयोगले जनाएको छ । सोही अवधिमा उनीहरूको खर्च तथा लगानी भने १५ करोड ९८ लाख ३५ हजार ३३५ रुपैयाँ रहेको आयोगको भनाइ छ । वैध आयभन्दा बढी खर्च तथा लगानी देखिएको भन्दै आयोगले आचार्यमाथि गैरकानुनी सम्पत्ति आर्जनको आरोप लगाएको हो । आयोगले आचार्यकी श्रीमती ललिता राजभण्डारी तथा छोरीहरू निलु आचार्य र सरु आचार्यविरुद्ध पनि समान बिगो बराबरको मागदाबी गरेको छ । त्यस्तै, भक्तपुरको मध्यपुरथिमि–२ की प्रभा बस्नेत र काठमाडौँको पेप्सीकोलाकी कुमारी कटुवालविरुद्ध ३८ लाख ८६ हजार १८२ रुपैयाँ बराबरको बिगो मागदाबी गरिएको छ । आयोगले आचार्य र उनका परिवारका सदस्यविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगमा अर्को मुद्दासमेत दायर गरेको छ । उनीहरूले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ बमोजिमको कसुर गरेको आयोगको आरोप छ ।