बाक्लो हुस्सुका कारण  विराटनगर विमानस्थलको उडान रद्द

काठमाडौँ । आज पनि बाक्लो हुस्सु र कुहिरोका कारण विराटनगर विमानस्थलको उडान प्रभावित भएको छ । बिहानैदेखि  मौसमको अवस्था उस्तै रहेको कारण उडान हुने नहुने टुङ्गो नभएको  विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीले जानकारी दिए  ।

मंगलबार साँझ आएको बुद्ध एयरको जहाज काठमाडौँ जाने बाहेक कुनै उडान नभएको भण्डारीले बताए ।  सुरक्षित हवाई उडान र अवतरणका लागि १ हजार ६ सय मिटर भिजिबिलिटी र २ हजार मिटर सिलिङ चाहिन्छ । बुधवार भिजिबिलिटी एक हजार मिटर मात्र पुगेको थियो ।

विराटनगरबाट काठमाडौँका लागि दैनिक बुद्ध एयरको ७ वटा, यति एयरलाइन्सको ५ वटा, श्री एयरलाइन्सको ३ वटा र सौर्य एयरलाइन्सको एउटा गरी १६ वटा उडानहरू हुने र दैनिक करिब १ हजार हवाई यात्रुहरूले सेवा लिँदै आएका छन् ।