राष्ट्रिय सभा निर्वाचन : मत गठबन्धनभन्दा बाहिर नजाने सचेतक लेखकको दाबी

काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनको मत गठबन्धनभन्दा बाहिर नजाने नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले दाबी गरेका छन् ।

प्रमुख सचेतक लेखकले बिहीवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै निश्चित मानिसहरु मतदाता भएको बताउँदै  मत बाहिर नजाने बताए । मतदाता प्रदेश सभा सदस्यहरु, नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरु रहेकाले आ आफ्ना पार्टीका नेता भएकाले देशको समसामयिक राजनीतिक परिस्थिति बुझेर नै मतदान गर्नेमा विश्वस्त रहेको सचेतक लेखकले बताए । 

प्रमुख सचेतक लेखकले राष्ट्रिय सभाको निर्वाचनको सन्दर्भमा सरकारमा संलग्न र सरकारलाई समर्थन गरेका राजनीतिक दलहरुको गठबन्धन रहेको र उम्मेदवार पनि गठबन्धनबाटै दिएकाले यो समितिले गठबन्धनका उम्मेदवार जिताउन भुमिका खेल्ने बताए ।

राष्ट्रिय सभा निर्वाचन केन्द्रिय समन्वय समिति संयोजक समेत रहेका लेखकले समन्वय समितिले निर्वाचन व्यवस्थित बनाउन लाग्नुपर्ने जानकारी  दिए ।