सामाजिक सुरक्षा कोषलाई सबै नागरिकसम्म पुर्‍याउन आग्रह

काठमाडौँ । औपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षा विषयमा अन्तर्क्रिया कार्यक्रममा सरोकार भएका निकायका अधिकारीले सरकारले लागू गरेको सामाजिक सुरक्षा कोषलाई सबै नागरिकसम्म पुर्याउन आग्रह गरेका छन् ।

आज बिहीबार सामाजिक सुरक्षा कोष र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच भएको अन्तर्क्रिया कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल भण्डारीले नेपालको संविधानमा उल्लेखित सामाजिक सुरक्षासम्बन्धी हकलाई कार्यान्वयन हुनेगरी कार्यक्रममा आबद्ध हुन सबैलाई आह्वान गरेका छन् ।

कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले कोषको महत्वबारे प्रकाश पार्दै कोषमा आबद्ध हुने प्रक्रिया र अवस्थाका बारेमा जानकारी गराए ।

सामाजिक सुरक्षा कोषको स्थापना सामाजिक सुरक्षा (व्यवस्थापन कोष तथा सञ्चालन) नियमावली, २०६७ जारी भई सोबमोजिम २०६७ साल चैत ७ गते भएको हो ।

कोषले स्थापनाकालदेखि सामाजिक सुरक्षा करको व्यवस्थापन गर्दै आएकामा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ जारी भएपछि सो ऐनबमोजिम कार्य गर्दै आएको छ ।