काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना र नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै मन्त्रालय तथा निकायलाई निर्देशन दिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मुख्यसचिवको अध्यक्षतामा बसेको सचिव बैठकले विस्तृत कार्यान्वयन योजना तयार गरी समयबद्ध रूपमा काम अघि बढाउने निर्णय गरेको हो । बैठकले नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने कार्यालयमा एकल बिन्दु सेवाको प्रबन्ध गरी नागरिकमैत्री सेवा प्रवाह गर्ने निर्णयसमेत गरेको छ । नागरिकले सरल, सहज र प्रभावकारी रूपमा सेवा पाउने सुनिश्चित गर्न यस्तो व्यवस्था गर्न लागिएको हो । त्यस्तै, महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेखित बेरुजु फर्छ्योट तथा न्यूनीकरणका लागि कार्ययोजना बनाउन निर्देशन दिइएको छ । उपभोक्ता ठगी, मिसावट र कृत्रिम अभाव नियन्त्रण गर्न सघन बजार अनुगमन गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले तिहार तथा छठमा शान्ति सुरक्षा चुस्त राख्ने र सार्वजनिक खरिदमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने निर्णय गरेको छ । साथै, सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३ कार्यान्वयन गर्ने निर्णय भएको छ ।