काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि कर्णाली पूर्ण रूपमा तयार रहेको बताएका छन् । सुर्खेतमा निर्माणाधीन रङ्गशाला तथा विभिन्न खेल पूर्वाधारको स्थलगत अवलोकनपछि उनले प्रतियोगिता आयोजनाको तयारीप्रति विश्वस्त रहन आग्रह गरेका हुन् । अवलोकनका क्रममा पोखरेलले आयोजक, स्थानीय पदाधिकारी र सरोकारवालासँग पूर्वाधार निर्माणको प्रगति तथा बाँकी कामबारे छलफल गरे । ‘निरन्तरको प्रयास र संवादले पूर्वाधार निर्माणको गतिलाई अझ तीव्र बनाएको छ,’ निरीक्षणपछि उनले भने, ‘हाम्रा रङ्गशाला र संरचनाहरू तयार हुँदैछन् । देशैभरका प्रदेश, जिल्ला र स्थानीय तहहरूमा उत्तिकै उत्साह र तत्परता देखिएको छ ।’ पोखरेलले प्रतियोगिता सुरु हुन ३० दिन बाँकी रहेको जनाउँदै ‘काउन्टडाउन’ सुरु भएको घोषणा पनि गरे । लामो समयदेखि विविध कारणले रोकिएको राष्ट्रिय खेलकुदलाई कर्णालीको भूगोलले नयाँ उचाइ दिने भन्दै उनले खेल क्षेत्र र खेलाडी उत्साही रहेको बताए । दसौँ राष्ट्रिय खेलकुदको तयारीका सिलसिलामा सुर्खेत पुगेका पोखरेलले आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही र सामाजिक विकासमन्त्री जीतबहादुर मल्लसँग पनि छलफल गरेका थिए ।