काठमाडौँ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अवधिमा देशभर हराएका दुई हजार ३५६ बालबालिकामध्ये दुई हजार ७७ जनालाई फेला पारी परिवारमा पुनर्मिलन गराइएको छ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको प्रथम त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमडीएसी) को बैठकमा उक्त विवरण प्रस्तुत गरिएको हो । मन्त्री सिता बादीको अध्यक्षतामा सम्पन्न बैठकमा दिइएको जानकारीअनुसार सोही अवधिमा ५२ सडक बालबालिकाको उद्धार गरिएको छ । हिंसा तथा जोखिममा परेका २२६ बालबालिकाको तत्काल उद्धार गरी संरक्षण तथा व्यवस्थापन गरिएको छ । त्यस्तै, बाल हेल्पलाइनमार्फत दुई हजार ९७८ बालबालिकालाई राहत, उपचार, मनोविमर्श तथा कानुनी परामर्शलगायत सेवा उपलब्ध गराइएको विवरण बैठकमा प्रस्तुत गरिएको थियो । बैठकमा मन्त्रालय तथा मातहतका निकायले सञ्चालन गरेका कार्यक्रम, उपलब्धि, बजेट कार्यान्वयनको अवस्था र कार्यक्रम सञ्चालनमा देखिएका समस्याबारे समीक्षा गरिएको थियो । महिला सशक्तीकरण, बालबालिकाको संरक्षण, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण र सामाजिक सुरक्षा कोषको दायरा विस्तारसम्बन्धी प्रगति पनि समीक्षा गरिएको थियो । सेवा केन्द्र तथा पुनर्स्थापना केन्द्रका पूर्वाधार निर्माण र ज्येष्ठ नागरिकको हेरचाहसम्बन्धी कामको प्रगतिबारे समेत छलफल भएको थियो । नीतिगत तथा कानुनी सुधारतर्फ मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, बालबालिका र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐनका संशोधन विधेयक तथा दलित समुदायको अधिकार र विकाससम्बन्धी विधेयकको मस्यौदा तयारीको अवस्थाबारे जानकारी गराइएको थियो । बैठकमा विपद् प्रभावित महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको उद्धार, संरक्षण, राहत र मनोसामाजिक सहयोगका प्रयासको पनि समीक्षा गरिएको थियो । अघिल्लो एमडीएसी बैठकका निर्णय कार्यान्वयनको अवस्था र अन्तरमन्त्रालय समन्वय आवश्यक रहेका विषय प्रस्तुत गर्दै कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा सेवा प्रवाहका समस्या समाधानबारे छलफल गरिएको थियो । बैठकमा मन्त्रालयका सचिव, राष्ट्रिय योजना आयोगका सदस्य रेशु अर्याल तथा विभिन्न मन्त्रालयका प्रतिनिधि सहभागी थिए ।