न्यायपालिकाको स्वतन्त्र अस्तित्व सङ्कटमा परेको बारको निष्कर्ष, पूर्वअध्यक्ष श्रेष्ठको संयोजकत्वमा समिति गठन

  • सोमबार १७ कात्िक २०८३ ०८:४५ PM
काठमाडौँ। नेपाल बार एसोसिएसनले न्यायपालिकामा सत्ताको कार्यकारी छाया पार्ने प्रयत्न भइरहेको भन्दै न्यायपालिकाको स्वतन्त्र अस्तित्व गम्भीर सङ्कटमा परेको निष्कर्ष निकालेको छ । कात्तिक १६ गते बसेको बार कार्यसमिति र सल्लाहकार समितिको संयुक्त बैठकले न्यायपालिकासम्बन्धी समसामयिक विषयमा छलफल गर्दै न्यायपालिकाको स्वतन्त्रता रक्षाका लागि दृढतापूर्वक लागिपर्ने निर्णय गरेको हो । बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिअनुसार बैठकले हालको प्रकरणमा तथ्य सङ्कलन र समग्र न्याय क्षेत्रको उन्नयनका लागि आवश्यक सुझाव दिन एक महिनाको समयसीमासहित समिति गठन गरेको छ । समितिको संयोजकमा बारका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ छन् । सदस्यमा सर्वोच्च अदालत बार एसोसिएसनका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य, नेपाल बारका पूर्वउपाध्यक्ष वरिष्ठ अधिवक्ता उषा मल्ल पाठक र वरिष्ठ अधिवक्ता सुरेन्द्रकुमार महतो तथा पूर्वकेन्द्रीय सदस्य वरिष्ठ अधिवक्ता चन्द्रप्रसाद काफ्ले छन् । सदस्यसचिवमा बारको केन्द्रीय कार्यसमिति सदस्य अधिवक्ता बाबुराम अर्याल छन् । बैठकले न्यायिक सुधार, भ्रष्टाचारविहीन प्रणालीको विकास र सुशासनको प्रत्याभूतिका लागि विगतमा लेखिएका सम्पूर्ण प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने माग पनि गरेको छ । भ्रष्टाचारजन्य कार्यको निष्पक्ष अनुसन्धान गरी जुनसुकै ओहदा र दर्जाका वर्तमान तथा पूर्वपदाधिकारीलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने बारको भनाइ छ । अनुसन्धानबाट दोषी देखिए तत्काल मुद्दा चलाउनुपर्नेमा पनि बारले जोड दिएको छ । ‘यो विषय सनसनी फैलाउने विषय होइन, तत्काल राज्यको ध्यानाकर्षण हुनुपर्ने विषय हो,’ विज्ञप्तिमा भनिएको छ । समितिबाट प्राप्त प्रतिवेदन आगामी मङ्सिर २५ गते धनगढीमा हुने बारको ५२औँ केन्द्रीय कार्यकारिणी परिषद्को बैठकमा प्रस्तुत गरिनेछ । प्रतिवेदनमाथि छलफलपछि आगामी कार्ययोजना तय गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।