काठमाडौँ । दलित समुदायका महिलाको राष्ट्रिय सञ्जाल दलित महिला सङ्घ (फेडो) को अध्यक्षमा रेणु सिजापति चयन भएकी छन् । बुटवलमा सम्पन्न सङ्घको छैटौँ महाधिवेशनले आगामी चार वर्षे कार्यकालका लागि सिजापतिको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । महिला अधिकारका क्षेत्रमा लामो समयदेखि सक्रिय सिजापति यसअघि सङ्घको महासचिव थिइन् । महाधिवेशनबाट सङ्घको उपाध्यक्षमा सरस्वती मण्डल, महासचिवमा हेमा सुनार, सचिवमा सिवानी ल्वागुन र कोषाध्यक्षमा जानुका घताने निर्वाचित भएका छन् । त्यस्तै, सदस्यमा सीता मिजार, सुमित्रा गायक, निर्मला विक, रेजिना हिमाङ र रोजिना घताने सर्वसम्मत निर्वाचित भएका छन् । नवनिर्वाचित कार्यसमितिलाई सोमबार नै निवर्तमान अध्यक्ष कला स्वर्णकारले कार्यभार हस्तान्तरण गरेकी छन् । सङ्घका शाखा कार्यसमिति सातै प्रदेश तथा जिल्ला स्तरमा समेत रहेका छन् । संस्थाले महाधिवेशनको अवसरमा संस्थापक अध्यक्ष दुर्गा सोब र निवर्तमान अध्यक्ष कला स्वर्णकारलाई सम्मानसमेत गरेको छ ।